-सुरज दाहाल
तिम्रो मुस्कान यस्तै केहि हो -
जस्तो पुर्णिामाको चन्द्रमाको उज्यालो प्रकाश
औंशीको अध्यारो रातपछिको फराकिलो आकाश
अनन्त दुख र आशुपछि केहि खुसीको आभास
तिम्रो हासो त्यति टाढा पनि त छैन -
जिन्दगीको नाटकघरमा तिम्रो हासो मधुर गीत हो
तिम्रो पैतालाको चालको सुमधुर संगीत हो
सायद कुरुक्षेत्रमा कृष्ण आएको प्रभात हो
हरेक मुस्कान नया ब्रह्माण्डको सुरुवात हो
तिम्रो मुस्कान-
त्यति हलुका पनि त छैन
सायद कोशी जस्तै जटिल र विशाल छ
गौरीशंकर जस्तै भिमकाय र अटल छ
बागमती जस्तै पवित्र र निश्चल छ
तिमी नहासेको दिन -
सायद सुर्यलाई बादलले ढाके झैं बिलाउछ
मोनालिसाको तस्बिर आफैंसंग डराउछ
अचानक हराएको आकाशको तारा झैं
जिन्दगीको सबैभन्दा सुन्दर कला हराउछ
तिमी नहासेको दिन -
पूरा एक युगको खुसीको मजा
तिम्रो एक पलको मुस्कानमा भेटिन्छ
पूरा जिन्दगीको मेरो उदासताको भोक
तिम्रो एक पलको मुस्कानमा मेटिन्छ ।