-सुजाता राई
रातको सन्नाटा पनि
कोलाहल लाग्छ मलाई
निन्द्रा पर्दैन कसैगरी
मनका तरंगहरु लहरिदै
बहकिदै, झस्काउछन मलाई
एकतमासले।
अनायसै हृदय झंकारित हुन्छ
मनको आवाज बुलन्द हुन्छ
ए नेपाली उठ
कति सुत्छस
देख्दैन्स, तेरो माटो मरिसक्यो
तेरी आमा बलात्कृत भएकि छे
तेरो समाज बिखन्डित हुँदै
पतनको संघारमा उभिएको छ
तँ भने ,शिथिल शरीर
खन्डहर मन लिएर
निदाउने प्रयत्न गर्दैछस?
मैले पल्टेको शरीर
हिम्मतले उठाएर
एक गिलास पानी पिएँ
चारैतिर हेरें
अध्यारो कोठा
भत्किएको संघार
उराठ लाग्दो बर्तमान
कहालीलाग्दो अनिश्चित भविष्य ।
सम्झे वास्तबिकतालाइ
किन होला आस्था ,आदर्श
लिलाम भए मेरो देशमा!
बलिदान तिरस्कृत भए
रगतको अपमान गरियो
सामाजिक समानताका पर्खाल
धमाधम भ्त्काइए
सद्भाव र भाइचारामा पर्खाल लगाउन थालियो
दौलतका महलहरु सगरमाथा झैं ठडिएं
जनता ब्यथा र पिडामा किचिएर
चिप्लो ओरालोमा गन्तव्य बिहिन
यात्रामा छन्
माटोको चाहना
जनताका इच्छा आशा भरोसा
बिश्वासमाथि चीरहरण भाको छ
मानबता मारेर
धार्मिक साम्प्रदायिक सद्भाव
बिथोल्न प्रयास गरिएकोछ
भुकम्प गएकै छ
बाढी पहिरो भएकै छ
गरिबको नाम मा धनीले
लुटेकै छ
भ्रष्टाचार संस्थागत भएकै छ
राजनीति लाजनिति भकैछ
देश बेचेर सिहदरबार र बालुवाटार
किन्ने हरु बढेका छन्
म झस्कन्छु
यी नेता भनाउदालाई सोध्न मन लाग्छ
बालुवाटार र सिहदरबार कुन देशमा पर्छ
जब नेपाल नै बिक्री गर्न लागि सक्यौ?
म निर्णय गर्छु
म उठें अब उठें
शान्तिको बिगुल बजाएर
सामाजिक सद्भावको दियो बालेर
मेरो स्वाभिमान फर्काउन
मात्र नेपाली जातिको शिर उठाउन
मेरी आमाको अस्मिता जोगाउन
माटोको लिलाम फिर्ता गर्न
अंह अब म सुत्दिन
उठे अब उठे।