- शरद प्रधानाङ्ग
हिजोआज मेरो देशलाई रोएको देख्दा
हिमाल, पहाड अनि तराई पनि रून्छ
कसले बुझिदिने यो कथा र व्यथालाई
छाती भित्रभित्रै मुटुको पाटोमा छुन्छ
ए आमा एउटा दुरदर्शी नेता जन्माईदेउ
भ्रष्टाचार र अत्याचार देशबाट हटाईदेउ
माटो बाँझो आज हिजो थियो हराभरा
तड्पि रहेछ हिमाल, पहाड अनि तराई गरागरा
धेरै पोखियो रगत पसिना विदेशी माटोमा
आऔं आफ्नै माटो सिन्चित गरौं पाटोमा
फर्किनु हुन्न अब युवा शक्तिहरू बाकसमा
भरोसा गरौं आफ्नै पाखुरी अनि ताकतमा
दाईजो होईन देश कसैको, पुर्खाको नासो हो
विश्व सामु किन पछि परियो हाम्रो चासो हो
ढिलो भयो हातमा हात मिलाई मुठ्ठी कसौं
कसरी विश्व सामु अघि बढ्ने हो जुक्ति सोचौं
फूलमा अर्को फूल गाँसेर एउटै माला बनौं
झुक्दैन कहिले नेपाली हामी गोर्खाली भनौं
अब निदाए ढिलो हुन्छ संसार कहाँ पुगिसके
आखिर मान्छे नै हो त चन्द्रमालाई चुमीसके
के छैन र हामी संग प्रकृतिको अमूल्य श्रोत
तराई छ समथर फाँट हिमाली छहारी ओत
उठौं अब जागौं हामी सबै नेपाली दाजुभाई
एउटै मुठ्ठी बनौं हिमाल, पहाड अनि तराई।