- शरद प्रधानाङ्ग
उजाड भयो जिन्दगी सपनीको घर जलेपछि
एक्लै भयो पिपल पनि संगैको बर ढलेपछि
विश्वासको पर्दा च्यातियो दुनियाँको नजरमा
हौसला अनि उत्साहको सबै बगर गलेपछि
झुटो पनि सत्य हुँदो रहेछ कहिलेकाँही यहाँ
कैयौं बाध्यताहरू मुस्कानमा अधर पलेपछि
शिखर चुम्ने आसालाई तुवाँलोले ढाकिदिंदा
पाइला पिच्छे पीडाहरूको लस्कर चलेपछि
बुझिदिने कोही भएन छाती भित्रको व्यथा
आफ्नै भन्नेले नै विश्वासमा जहर दलेपछि
छायाँले पनि त साथ छोडिदिन्छ हिजोआज
साथ दिन्छु भन्नेको मुटुभित्र पत्थर बलेपछि।