-सरस्वती गौतम
प्रकृति त अविचलित छ
सूर्यलाई हत्केलाले छेक्दैमा
दिउँसै अँध्यारो हुँदैन
पराइलाई खुशी पार्न
आफ्नै घरमा आगो
सल्काउन हुँदैन
ए महासय !
आफूलाई विद्वान हुँ भनी
खुब हुंँकार गर्छौ
घमन्ड र पाखन्डले खुव तातिन्छौ
आसेपासेलाई खुशी राख्न
आफ्नालाई जलाएर
पराइलाई खुशी राख्न
भारी सभामा
सार्वजनिक कार्यमा
आफ्नै धोती आफैँले खोल्छौ
देखाउछौ आफ्नो असलि रुप
ए महासय!
आकाश तिर फर्किएर
कति थुक्छौ ?
किन बुझेर पनि बुझ्दैनौ
आफ्नै मुखमा पर्छ भन्ने
के त्यति पनि
चेतना छैन तिमीलाई?
बेकारमा
के विद्ववताको परिचय दिन्छौ
के ब्याख्या गर्छौ सात्विक व्यबहारको
जहाँ तिमी आफैँ
सुन्दर सपनाहरुको बलात्कार गर्छौ
सुन्दर घरमा आगो लगाएर
खरानीको विभूति लगाउछौ
तिखा बाणहरु हान्छौ तिमी
कोमल मुटुमा छियाछिया हुनेगरी
एउटा हृदयमा घाउ लगाएर
अरु हृदय चाहार्ने बानीले
तिमी एकदिन
न घरको हुनेछौ न घाट्को
आउदैछ त्यो दिन
असली स्वरुपको
महाभारत सबैले थाहा पाउने समय
तिम्रो चारित्रको बयान भएर
इतिहास लेखिने दिन
होस् गर महासय!
अति भो तिम्रो यो ज्यादती
सहन गर्ने शक्ति छैन अब
इटको जवाफ पत्थरले दिन
आउँछ हामी जस्तालाई
म आफैं पनि
अक्षरको खेती गर्न थालिसकेँ
तिम्रै अनुमतिले तिम्रै अस्तित्वमाथि
प्रश्न तेर्साएर उठ्दैछु म
अब त अति भो महासय !
अति भो भने खती हुन्छ
थाहा छ मलाई पनि।
अब त मैदानमा उत्रनु नै छ
पल पलमा मर्नु भन्दा
बहुलाउनुनै बेस छ
जे हुन्छ होस्
परिणामको पर्खाइमा छैन म
एक सुत्रिय उद्देश्य छ मेरो
तिम्रो इतिहास र बर्तमान
एक एकलाई बताएर
तिम्रो चरित्रको नाङ्गो इतिहास लेख्ने
हो अब त्यही भएर
ए महासय !
यो चुनौतीको मैदानमा
उत्रिएकै हो मै पनि।