-गीता अर्याल
यादहरु मनको भकारी भरी छन्
सम्झनाहरु हृदयभरी ताजै छन्
धेरै छन्
बुवा हजुरको ।
तर आज,
संझेर नै के गर्न सकिन्छ र !
हामीदेखि टाढा भएर
हराएर
बिलाएर,कहिलै नउदाउने गरी अस्ताएर
जानु भएको नि धेरै भैसक्यो
आफुमात्र कहाँ जानु भयो र?
घर शुन्य बनाएर ,उताको घर सजाउन
आमालाई पनि पठाएर जानु भो
आमा बाबाको माया बाट बन्चित
हामी छोराछोरी
बाबा तपाईलाई हृदयभरी सजाएर
तपाईंका आदर्श र गुणलाई बोकेर
बाँचिरहेछौ।
सबैले फोटो सजाएर बाबाको
संजालको भिता रङाएका छन् आज
तर मैले राखिन त्यो भितामा तपाईंलाई
किनकि तपाईं त मेरो जीवनको केन्द्र हो
मुटुमै टाँसेको छु मैले तपाईंलाई
त्यसैले त मात्र मनका भाव पोखेकी हुँ।
आज एक दिन
विशेष दिन पारेर
सामाजिक संजालमा राखेर हजुरलाई
के काम देखाउनु
के माया गरें भन्नु
मन परेन मलाई
यि भितामा टाँस्न हजुरलाई।
माया र सम्झना त
मनभरी मुटुभरी छन्
हुनुपर्छ
यो एक दिने माया
देखवटी सम्झना चाहिन्न मलाई ।
माया र सम्झना त हिजो नि थियो
आज नि छ
भोलि पनि हुनेछ ।
यो सधै हुने कुरा हो
यो आत्मा खरानी नहुन्जेलसम्म रहन्छ
हो बाबा हजुरको बियोगमा भनूँ कि
सम्झनामा भनूँ
आँसु बगाउन त मलाई पनि आउँछ
कसलाई प्यारो नलाग्ला र बाबा!
तर म बगाउदिन आँसु
हजुरको साथ मेरो कणकणमा छ
म धेरै बेचैन पनि हुँदिन बाबा
किनकि म त आँसु बगाउला
तर मेरा साना बालबच्चा के गर्लान
जस्ले बाबाको माया के हो
स्पर्स नै गर्न पाएका छैनन्
जानेका नै छैनन।
बाबाको न्यानो काख के हो
थाहा पाएका नै छैनन ।
उनीहरुको साथमा म छु
जो आमाबाबा दुबै बनेर
हुर्काएकी छु
लालनपालन गरेकी छु
आज सम्म उनिहरुको साथमा छु
कहिले आमा बनेकी छु
कहिले बाबा बनेकी छु
खुशी धेरै दिन सकिन होला
मेरा आँखाका नानीहरुलाई
दु:ख चाहिँ धेरै दिएकी छैन।
त्यसैले पनि मेरा आँखाबाट
आँसु बग्दैनन
बगाउदिन पनि
त्यी अबोध नानीहरुलाई हेरेर।
छन त मेरा पनि संस्मरण धेरै छन्
बुवासंग बिताएका यादहरु धेरै छन्
ती पलहरु मानसपटलमा झलझली छन्
तर बाबा भित्तामा चाँहि टाँसिन है
त्यो तस्बिर आज
बरु मनका तरेली लेखें
हृदयका भाव लेखें
सधैं हजुरलाई अमर बनाएको
यो छातीको कौतुहल लेखें
तर खोजिन फोटो
राखिन फेसबुके पन्नामा
किनकि हजुर त मेरो हृदयमा
सकुशल हुनुहुन्छ ।