माटोको सुगन्ध

माटोको सुगन्ध

-सुशीला ढकाल अधिकारी
माटोको सुगन्ध कत्ति मिठो
पानीको स्वाद कत्ति मिठो ।

जन्मेको माटो, खेलेको पाटो
हुर्केको पहरा, आफ्नै हिमाल, पहाड, तराई
नसा नसामा देश छ
श्वास र रगतमा देश छ
मुटुको ढुकढुकीमा देश छ
मेरो देशको माटोको सुगन्ध नै मिठो ।

यस्तो देशमा खान पाइएन
श्रम बेचेर बालपथरा पाल्न पाइएन
आमाबाको हेरचाह गर्न पाइएन
नाना, खाना र छानाका लागि
रोजगारी खोज्नै पर्यो
देशमा नभएपछि परदेशी बन्नै पर्यो
कसैले भनेन, यही माटो खोस्र
यही माटोमा जीवन फुलाउ फलाउ
मेरो शासक मलाई विदेश पठाउँछ
र, रेमिटान्स गनेर शासन गर्छ ।
हावा मिठो त स्वदेश कै हो
पापी पेटको सवाल छ
विदेश त जानै पर्यो ।

स्वदेशमा छनौट हुन दलालकोमा लाम
छनौट भएपछि पासपोर्ट लिन
सरकारकोमा लाम
श्रम स्वीकृतिका लागि
कर्मचारीकोमा लाम
स्वास्थ्य परीक्षण गराउन
डाक्टरकोमा लाम
कहाँ सजिलो छ र विदेश जान पनि
पाइलैपिच्छे दलालको लम्कीझम्की
कर्मचारीलाई घुस
एयरपोर्ट पुगेपछि त्यता पनि घुस
बल्ल विदेश उड्यो,
अनि सुरु हुन्छ दु:खी जीवन ।
देशको माटो खोस्रन नपाएपछि
विदेश बनाउन खटिनु पर्ने
माटोको सुगन्ध मिठो भएर के गर्ने ?

स्वदेशी दलालले विदेशीलाई बेच्छ
विदेशी दलालले अर्कोलाई बेच्छ
अर्कोले अर्कोलाई बेच्छ
मानौं नेपाली युवा दास हुन्
खरिद बिक्री हुने बस्तु हुन्
निरन्तर खरिद बिक्री भइरहेछन्
तिनको श्रम ,शोषण हुन्छ
शारीरिक र मानसिक शोषण हुन्छ
शोषणको अन्त्य छैन
स्वदेशको पानी मिठो भएर के गर्नु
विदेशमा विष पिएर कमाउनु पर्छ
कमाउनेले पैसा पठाउँछन्
अभागीहरू कि त पागल बन्छन्,
जेल पर्छन् अनि उतै मर्छन्
उडेर सपना खोज्न जानेहरू
दैनिक सात थान बाकसमा आउँछन्
स्वदेशको माया लागेर के गर्नु ?

पाइएन, स्वदेशमा बस्न
साग र सिस्नु खाएर बस्न पाइएन
बसेर गरिखान पाइएन
कोही सुख खोज्न दौडिएका छन्
कोही दुई गाँस कमाउन हिँडेका छन्
विदेशको हुटहुटीले सेकिएका छन्
देख्दैन, सरकार छ देख्दैन
बोल्दैन, सरकार छ बोल्दैन
सुन्दैन, सरकार छ सुन्दैन
युवाहरू चिच्याहटमा छन्
युवा बेचेर शासन गर्नेहरू
विवेकहीन छन्
स्वाधीनताका टाकुराहरू
विदेशमा गलिरहेछन्
कसले हेर्ने ?

आफन्तसँग बिछोडको पीडा
लाहुरेलाई सोध
स्वदेशको माटो, हावा पानीको मिठास
विदेशीएकालाई सोध
कतिका घर बिग्रेका छन्
कतिका मति बिग्रेका छन्
कोहीको बन्दोबस्त भयो होला
तिनलाई बधाई
धेरैले लाञ्छना र अपमान सहेका छन्
तिनको घाउ हेर्ने कसले ?
भन्नेहरूले विदेशको रमाइलो सोध्छन्
विदेशीएकाले स्वदेशको सान्निध्यता खोज्छन्
सोध्ने र खोज्नेहरू बिचको भतभती पोल्ने
व्यथा अर्कै छ, कथा अर्कै छ
घर भनेको घर हो,
स्वदेश भनेको स्वदेश हो
स्वदेशको महिमा बुझ्ने नेतृत्व नभएपछि
यस्तै पीडा हुन्छ
पीडामा पौडिएको नेपाल हुन्छ ।

एउटा सोच त पलाओस्
एउटा फूल त फुलोस्
स्वदेशको गरिमा र महिमा बुझ्ने
एउटा नेतृत्व त जन्मियोस्
ता कि
नेपालमै पसिना बगाउन पाइयोस्
परिवारसँगै बस्न पाइयोस्
नेपालीको जीवनयात्रा
स्वदेशमै सुरु होस्
र स्वदेशमै समाप्ती होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्