देवराज तामाङ
विराटनगर । एक समय विराटनगरमा यातायातका लागि सहज साधनका रुपमा रिक्सा थियो । मुख्य सडक होस् या भित्र सडकमा रिक्सा भेटिन्थे । तर, अहिले समयसँगै प्रविधिले फड्को मारेको छ, शहर बजारमा ई–रिक्सा भित्रिएसँगै पाइडल रिक्सा लोप भएको छ ।
बजारमा खोज्दा फाट्टफुट्ट मात्रै रिक्सा देख्न सकिन्छ । अझ भनौँ बिहान–बेलुका होस् या जुनसुकै समयमा पनि यात्रुको प्रतिक्षामा विराटनगरको चोक–चोकमा भेटिने रिक्सा पछिल्लो समय सिटी र अटोमा ‘कन्भर्ट’ भएको छ ।
विराटनगरको सडकमा चार दशकदेखि रिक्सा चलाएर जीवनयापन गर्दै आइरहेका छविलाल राम अहिले पनि रिक्सा नै चलाउँदै छन् । आफ्नो दैनिकी बिताउनका लागि मात्रै भए पनि रिक्सा चलाउने गरेको उनी बताउँछन् । विराटनगर १२ बस्दै आएका ८० वर्षिय रामले विराटनगर महानगरपालिकामा दर्ता गरेर मात्रै रिक्सा संचालन गरेको सुनाए । बिहान ९ बजे घरबाट रिक्सा लिएर निस्किने गरेको उनी २ रुपैयाँ रिक्सा भाडा हुँदादेखि विराटनगरको सडक र शहरसँगको सम्बन्ध रहेको बताउँछन् ।
‘मैले २ रुपैयाँ भाडा हुँदादेखि रिक्सा चलाउँदै आएको हो, दैनिकी ५० रुपैयाँदेखी १५० रुपैयाँसम्म मात्रै कमाउने गरेको छु,’ उनी भन्छन्,‘अटो रिक्सा र सिटीसफारी आउनु भन्दा अगाडी राम्रै कमाई हुने गरेको थियो । तर अहिले कुनै बेला खाली हात पनि घर फर्किनु पर्ने अवस्था आउँछ !’
पछिल्लो समय आएका वैकल्पिक सवारीसाधनको कारणले गर्दा रिक्सा लोप हुँदै गएको देख्दा आफूलाई दुःख लाग्ने गरेको सुनाउँछन् । ‘अहिले त यात्रु चढ्न छोडे तर पनि घरमा बस्न मनले मान्दैन’, रामले भने “मसँगै रिक्सा चलाउने साथीहरु कोही ठेला लाउन थाले ,कोही मरेर गए म भने अहिले यहि रिक्सा पाइडल चलाईरहेछु ।”
महानगरसँग छैन तथ्यांक
विराटनगरमा कति पाइडल रिक्सा थिए भन्ने तथ्यांक महानगरपालिकासँग छैन । पछिल्लो समय पाइडल रिक्सा विस्थापित गर्दै भित्रिएका अटो र सिटीको समेत यकिन तथ्यांक नरहेको विराटनगर महानगरपालिकाका नगरप्रहरी प्रमुख राजन पौडेल बताउँछन् ।
त्यसो त रिक्साहरुलाई इन्धनबाट चल्ने अटो रिक्सा र ब्याट्रिबाट चल्ने इलेक्ट्रिक रिक्सा अर्थात् सिटी सफारी भित्रिएपछि परम्परागत रिक्सा मात्रै विस्थापित भएनन् । अटो रिक्सा र ई–रिक्सा खरिद गरेर चलाउन नसक्नेहरुको आय आर्जनको बाटो नै बन्द भएको छ । अर्कोतर्फ सहज देखिएका अटो र सिटीको संख्या बढ्दा शहरका सडक साँघुरा झैं लाग्न थालेका छन् ।
सडक लेन अनुशासन नहुँदा राजमार्गमा मालवहाक, यात्रुवहाकदेखि साना सवारीको चापसँगै अटो र सिटी रिक्साको भीड देखिन्छ ।