विराटनगर । विराटनगर महानगरपालिकामा तीन वटा दमकल मात्र छन् ।
जापान सरकारले दिएको सबै भन्दा ठूलो एउटा दमकल बिग्रिएर वर्षौदेखी थन्किएको छ । अर्को दमकल पुराना भएकोले काम चल्ने गरि मर्मत गर्न सक्ने अवस्थामा छैन । चालु अवस्थामा रहेका मध्ये एउटा दमकल अहिले पनि मर्मतमै छ । बाँकी दुई दमकल मात्रै स्टेण्ड बाई छन् ।
पानी स्टोरेज क्षमता न्यून रहेका पुराना दुई वटा र भर्खरै प्रदेश सरकारले दिएको एउटा गरेर जम्मा तीन वटा दमकल छन् । महानगरपालिकाले दमकल थप्ने योजना बनाएको छैन । दमकल परिचालनलाई व्यवस्थित बनाउने योजना भर्खरै बुन्दैछ । नगरबाट उपमहानगर अनि महानगर, कोशी प्रदेशको राजधानी विराटनगर आगलागीको हरेक कोणबाट जोखिममा छ । खासमा विराटनगर क्षेत्रमा प्रसारण हुने बिद्युतको तार कमजोर छ । त्यसलाई विस्थापित गरेर नयाँ ट्रान्सफर्मर राख्ने र केवल अपग्रेड नहुँदा ‘लाइन सर्ट’को जोखिम छ । त्यसपछि दक्षिणी क्षेत्रमा फुसका घरहरु र हिउँदमा घुर ताप्ने कार्यले आगलागी अर्को जोखिममा छ ।
तर, आगो निभाउने दमकलको संरचना र अवस्था पुरानै छ । कामचलाउ दयनीय अवस्थामै रहेको महानगरको दमकल अवस्था विकसित र विस्तार भएको छैन । केहि परिमार्जन गरेर बिकेन्द्रीत ढंगबाट दमकल विराटनगर–३ पुष्पपाल चौकबाट विराटनगर–१४ मा समेत स्टेण्डबाई राख्न थालिएको छ ।
प्रदेशको राजधानी, औधोगिक तथा प्रशासनिक शहर पनि हो विराटनगर । ७६.९९ बर्ग किमी क्षेत्रफलमा ५० हजार बढी घरघुरी छन् । विराटनगरको जनसंख्या दैनिक बढ्दो दरमा छ । शिक्षा र स्वास्थ्यको हव बनिसकेको विराटनगरमा दुई ठूला मेडिकल कलेज दुई दर्जन ठूला अस्पताल, र दर्जनौं शिक्षण संस्थाहरु छन् । प्रदेशको राजधानी भएकोले प्रदेश १ सरकारका मन्त्रालय र प्रदेशसभा छ ।
व्यापरिक मलको रुपमा भाटभटेनी, सेन्ट्रल मल जस्ता आधुनिक ठूला र अग्ला घर तथा स्टार होटलहरुको संख्या थपिदो छ ।
बसोबास र व्यापार व्यवसायको चाप बढ्दै गएपनि विपद् व्यवस्थापन पूर्व तयारीको अवस्था कमजोर रहेको आरोप विराटनगर महानगरपालिकालाई लाग्दै आएको छ ।