विराटनगरको मानव सेवा आश्रममा आश्रितलाई खाद्यन्न जोहोको सकस

विराटनगरको मानव सेवा आश्रममा आश्रितलाई खाद्यन्न जोहोको सकस

सुजता लिम्बु
विराटनगर । सडक सहयोगापेक्षी र आश्रित बनेका नागरिकको व्यवस्थित बसोबास र संरक्षण गर्दै आएको मानव सेवा आश्रम विराटनगरलाई खाद्यन्नको अभाव भएको छ । सडक आश्रित र सहयोगापेक्षी मानव मुक्त बनाउने अभियान अन्तर्गतको यो कार्यका लागि संस्थागत भूमिका निभाउँदै आएको मानव सेवा आश्रमले नागरिकको छाक टार्ने जोहोका लागि सहयोगको अपेक्षा राखेको हो । संस्थाले संरक्षणसँगै परिवारमा पुनर्मिलन समेत गराउँदै आएको छ । तर, सडकमा अव्यवस्थित जीवन कटाउनेहरुलाई संस्थागत रुपमा संरक्षण गर्नका लागि दाताहरुसँग गुहार माग्नुपर्ने अवस्था देखिएको छ ।

आश्रममा मानसिक रुपमा समस्या भएका देखि घरपरिवारबाट टाढिएका समेतले आश्रय पाएका छन् । हाल मानवसेवा आश्रममा १४० जनाले सेवा पाइरहेको कोशी प्रदेश संयोजक नवराज के.सीले जानकारी दिए । तर आश्रममा दैनिक जस्तो सडक आश्रित मानवहरु बढ्दै गर्दा व्यवस्थापनको पाटोमा समस्या बढेको उनले बताए । दैनिक विहान र बेलुका ३ देखि ४ बेरा चामल खपत हुने अवस्था रहेकोले खाद्यन्न र तरकारीको जोहोमा समस्या परेको हो ।

‘मनकारी दाताहरुको जन्मदिन, वैवाहिक वर्षगाँठको अवसरमा सहयोग आउने गरेको छ, केही दाताहरुले व्यक्तिगत हिसाबले पनि सहयोग पुर्याउदै आउनुभएको छ,’ उनले भने, ‘दैनिक ३ देखि ४ बोरा बिहान बेलुका रासन खपत हुने हुँदा समस्या छ । सडक आश्रित आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरु पनि आश्रममा बढी रहनु भएकाले व्यवस्थापनको पाटोमा समस्या परेपछि विराटनगर महानगरपालिकाले सहयोग गर्ने आश्वासन दिएको छ ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आश्रित नागरिकका लागि खाद्यन्न व्यवस्थापनका लागि केहि पहल लिने काम भईरहेको बताएका छन् । मेयर कोइरालाकै पहलमा विराटनगरको सब्जीमण्डी गुद्री बजारले तरकारी उपलब्ध गराउँदै आएको छ । अब खाद्यन्नका लागि निजी क्षेत्रसँग समन्वयको पहल भईरहेको कोइरालाले जानकारी दिए । जसरी पनि बचाउनुपर्छ, खान नपाएर आश्रित नागरिक छटपटाउन कसैको मनले मान्दैन, खुलेर सहयोग गर्न उद्योगी–व्यवसायीसँग आग्रह गर्दैछु–मेयर कोइरालाको भनाई छ ।

आश्रमले आफ्नै भवन छैन । भाडाको भवनमा राखेर आश्रित नागरिकको सेवा गर्नुपर्ने अवस्था रहेको छ । यसका लागि स्थानीय तहले दिदैं आएको बजेट मात्रै पर्याप्त नभएको केसीको भनाई छ । प्रदेश सरकारले आश्रमको आफ्नै संरचना निर्माणमा केही बजेट विनियोजन गरिदिएको भएपनि सामान्य खाद्यान्न व्यवस्थापनको विषयमा भने कसरी अगाडी बढ्ने भन्ने सन्दर्भमा महनगरपालिकाको प्रमुख नागेश कोइरालासँग आग्रह गरिएको केसीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्