-राजन प्रसाद न्यौपाने
समयले जति जति
भञ्ज्याङ् कटाउँछ
मन उति उति नजिक
हुँदोरहेछ
समय बित्दै गएपनि
यादहरू पुराना
हुँदा रहेनछन्
तिमीलाई थाहा छ प्रिय !
आज त्यहि दिन हो नि,
हामीले मनसँग मन जोडेको
मुटुमा माया रोपेको
कहिल्यै नछुट्टिने कसम खाएको
गणेश भगवानलाई
साक्षी राखेर ।
बिर्सेकी त छैनौ है?
काँसको पालामा
बत्ती बालेर
धुप सल्काएर
दुबो र लड्डु चढाएर
गणेश मन्दिरमा
सँगै प्राथना गरेको
त्यै प्राङ्गणमा
रमाउँदै तस्विर खिचेको ।
हाम्रो मुटुको धड्कन
सँगै धड्किएर होला है
हामीलाई देखेर भगवान पनि
मुस्कुराए झै लाग्थ्यो
मुहारमा कान्ति थियो हाम्रो
सम्झ त एकपटक,
गणेशलाई साक्षी राखेर
हामीले मनमनै अंकमाल गरेको
मैले तिमीलाई
तिमीले मलाई
हेरेर दुवैजना मुस्कुराएको ।
प्रिय !
हामी कति प्रफुल्लित
थियौ है, त्यो दिन!
लाग्थ्यो,
संसारमा हामी बाहेक अरु कोही छैन
हाम्रो जस्तो माया,
सायद कसैको पनि छैन।
मन्दिरको तल बसेर
घण्टौ बिताएको
याद छ त तिमीलाई ?
हाम्रो यात्रा कति रमाइलो
थियो है!
त्यहि दिन हो आज
हामीले बाबा भोलेनाथसँग पनि
आशिष लिएका थियौ
एउटै दियो सल्काएर
दुई जनाले चढाएका थियौ
हाम्रो मन एउटै थियो
भावना उस्तै थियो
याद छ तिमीलाई
सँगै बसेर चिया खाजा खाएको
तिम्रो हृदयमा मैले छापा मारेको दिन
त्यही दिन हो आज
मेरो मुटुभरी तिमी फुलेकी थियौ
सधै, जन्म–जन्म
धड्किने कसम खाएर ।
हामीले गाँसेको मायाको माला
अहिले पनि चुडिएको छैन प्रिय !
कहिल्यै चुँडिने छैन
पुस्तौ पुस्ता, रहनेछ
मेरो हृदयमा पक्की घर बनाएर ।
हो प्रिय ! आज म
त्यही दिन सम्झिरहेछु
हामीले हामी हुन सिकेको
स्वार्थी र पापी भन्दा फरक
नितान्त फरक
पवित्र मनको माया गाँसेको
सायद पूर्वजन्मको
बाँकी अंश होला?
भौतिक स्पर्श बिना नै
मुटु र मुटु जोडेर
स्पन्दन सँगै चलाएको
मिठो मिठो मानेर
मायाको रसपान गरेको
हो प्रिय !
तिमीले बिर्सेउ कि?
आज त्यही दिन हो
हामीले ईश्वर साक्षी राखेर
सबै समर्पण गरेको
भौतिकता भन्दा माथि
मायाको झण्डा गाढेको
जीवनको सगरमाथामा ।