मणिराम दाहाल
सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिका ५ मा रहेको श्री लक्ष्मीनारायण कृषि फार्मले उन्नत जातकाे गाई पालन गरेर स्वदेशमै आम्दानी गर्न सफल भएको छ ।
लक्ष्मीनारायण मन्दिर सुन्दरहरैँचा ४ का अध्यक्ष दाताराम भण्डारीकाे परिकल्पनामा विगत दुई बर्ष देखि व्यवसायीक रूपमा गाई फार्म सञ्चालन गरिएकाे हाे । फार्ममा उन्नत जातका साना ठूला गरि ५२ वटा गाई रहेको भण्डारीले बताए । `` दैनिक रूपमा एक सय लिटर दूध फार्मबाट उत्पादन हुन्छ, मासिक रूपमा दुई लाख ७० हजार रुपैयाँ आम्दानी गाई पालनबाट भएको छ ´´ भण्डारीले भने । गाई पालनकाे आम्दानीबाट मन्दिर समेत सञ्चालन गरेर पूजारीलाई मासिक रूपमा १५ हजार रुपैयाँ तलब दिएकाे भण्डारीले उल्लेख गरे । उनले स्थानीय स्तरमा गाई फार्म सञ्चालन गरेर ५ जानालाई राेजगारी दिन सफल भएको बताए।
बार्षिक रूपमा ४० हजार रुपैयाँ तिरेर गाई फार्मकाे लागि १ विगाहा १० कठ्ठा जग्गा लिजमा लिएको भण्डारीले सुनाए । उनले गाई पालन गरेर अम्दानी बढाउँने साेच लिएर अघि बढेको उल्लेख गर्दै फार्ममा केही अयाेद्वादेखि ल्याएको राम्रो तथा ठूलाे जुराे भएको गाईले बढी दुध दिने गरेको बताए । ``फार्ममा एक लाख ९५ हजार रुपैयाँसम्मका गाई छन् ´´ भण्डारीले भने ``केही गाई दानबाट प्राप्त गरेका छाै , केही चहि खरिद गरेका हाेैँ । ``
सरकारी लाेन ९० लाखबाट सञ्चालन गरेको गाई फार्मलाई मजबुत बनाउँन ५० वटा बाख्रा पालन पनि गरिएकाे भण्डारीले बताए । उनले फार्म सञ्चालनका लागि सरकारबाट कुनै अनुदान नपाएकाे गुनासो गर्दै लाेनमा लिएकाे रकम घटाउँन समस्या भएको बताए । लक्ष्मीनारायण मन्दिरकाे निर्देशनमा गाई पालनलाई अघि बढाएर स्वदेशमै आम्दानी गरि समाजमा काम गरेर खानु पर्छ भन्ने संदेश दिन सफल भएको भण्डारीले जानकारी दिए ।
गाई पालनका लागि बर्षमा २ सय साेराई पराल तथा ५ सय बाेरा भुसी लाग्ने गरेको श्री लक्ष्मीनारायण कृषि फार्मका प्राेपराइटर संगिता पाैडेलले बताइन् । ``फार्म स्थापना गरे पछि आफु सँगसँगै गाउँघरमा धेरैले शुद्व दूध खान पाएका छन् ´´ पाैडेलले भनिन् `` सञ्चालन गरेको गाई फार्म हेर्न विभिन्न ठाउँका मान्छेहरू आउँदा खुसि लाग्छ ।´´बिहान बेलुकाको समय व्यवस्थापन गरेर मासिक रूपमा राम्रो आम्दानी गर्न सकिने देखेर व्यावसायिक रूपमा गाई पालेको पाैडेलले उल्लेख गरिन् । स्वदेशमै व्यवसायिक रूपमा कृषि कर्म गरेर बाँच्न चहाने कृषककाे लागि सरकारले अनुदानकाे राम्रो व्यवस्था गरेर सरल रूपमा ऋणपानकाे उचित व्यवस्था गर्नु पर्ने पाैडेलले बताईन् ।
सुन्दरहरैँचा नगरपालिकाका पशुपन्छी शाखा प्रमुख किशोरकुमार कार्कीले नगरपालिकाले याे बर्ष पशुपन्छीकाे लागि राम्रो बजेटकाे व्यवस्थापन गर्न नसकेको बताए । उनले बजेटकाे व्यवस्थापन गर्न नसके पनि पशुपन्छीकाे लागि नगर भेटनरी अस्पताल स्थापनाकाे प्रकृयामा अगाडि बढेको उल्लेख गरे । उनले अघिल्लाे बर्ष नगरपालिकाकाे तर्फबाट गाेठ सुधारकाे लागि व्यवसायिक फार्म सञ्चालन गर्ने कृषकलाई अनुदानकाे व्यवस्था गरिएको जानकारी दिए ।