-सुरज दाहाल
भ्रष्ट सभ्यताका साक्षी "पिपल"हरु चुपचाप छन्
अस्मिता लुटिएका "वर"हरु हास्न थालेकै छैनन
र , रोएका छन् भरिया चौतारीका नरुने आँखाहरु
आजकाल, तुलसीका मठ हरियो हुदैनन
परदेशीएका कुशहरुले बाबुको मुख हेर्दैनन
दुबोहरु झुपडीका द्धारहरुमा टासिदैनन
र रुद्राक्षहरु इतिहासका गलामा झुण्डिदैनन
सीता जन्माउने भुमि मजाक बनिरहन्छ
शैव हिमालहरु घोडा बनिरहेछन
अह ! बज्दैनन मन्दिरका संगीतमय घण्टाहरु
धम्मपदहरु अंग्रेजिमा बसाई सरेका छन्
र गोरखनाथका मुर्तिहरु ,
आयातित "बाइबल"को दारुण ध्वनि सुनेर
बृद्धाश्रमहरुमा जीवन-मरणको दोसाँधमा छटपटिरहेछन ।
समाज ,
"स्ट्याच्यु अफ पोभिर्टी/गरिबिको शालिक" लाई
कृतिम रुखहरुले झ्याप छोपेर
"डम्पिङ साइटहरुमा क्रिसमस मनाउदैछ
र , क्रिसमस ट्रीको सामुने
मदिरामा चुर्लुम्म डुब्ने भ्यागुताहरुले भन्ने छन्
"वर-पिपल पुजा गर्ने पाखण्ड हुन् !"