विराटनगरमा उत्पादन भएको फोहोर संकलनपछिको व्यवस्थापन कमजोर छ । पछिल्लो समय संकलनमा केहि प्रगति देखिए पनि त्यसको ‘डम्पिङ’ गर्ने कार्य कमजोर छ । शहरमा बढ्दो जनघनत्व र उत्पादन भएको फोहोर व्यवस्थापनको सम्बन्ध बहुआयमिक हुने गर्दछ । शहर स्वच्छ र सफा नभए मानव स्वास्थ्यमा त्यसले पार्ने असर गम्भीर हुन्छ । यस कारण शहर र फोहोरको सम्बन्ध विपरित तर अति आवश्यक ढंगबाट जोडिन्छ । शहरलाई सफा र सुन्दर राख्न भईरहेको पहल सकारात्मक भएपनि संकलित फोहोरको व्यवस्थापन, वर्गीकरण र प्रशोधनका काममा चासो कम हुँदा दीर्घकालमा यसले पार्ने असर अहिले नै आंकलन गर्नसक्ने स्तरका छन् ।
महानगरपालिकामा उत्पादन भएको फोहोर ब्रम्हपुराको केशलिया खोला नजिक डम्पिङ हुँदै आएको छ । शहरबाट संकलन सकारात्मक देखिएपनि ब्रम्हपुराको डम्पिङ साइटको प्रभाव नकारात्मक रुपमा देखिदैं आएको छ । त्यसले आसपासका घरहरुमा पारेको असर र नागरिकका गुनासा सम्बोधन गर्नुपर्ने दायित्व सरकारको हुन्छ । स्थानीय सरकार नागरिकसँग जोडिएको हुँदा गुनासो सुन्नु अनिवार्य दायित्वमा पर्दछ । यस कारण संकलित फोहोरको व्यवस्थापनका लागि विराटनगर महानगरपालिकाले व्यवस्थित र आधुनिक डम्पिङ साइट निर्माणको कामलाई तदारुकता दिएर ब्रम्हपुराका नागरिकलाई चाँडो न्याय दिनुपर्ने अवस्था छ । फोहोर व्यवस्थापनमा सफलता हाँसिल गर्दा मात्रै पनि महानगरपालिकाका जनप्रतिनिधिको यो कार्यकालको मुख्य कार्यभार पुरा गरेको ठहर्ने अवस्था देखिन्छ ।
विराटनगर महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि डम्पिङ साइट निर्माणको हालसम्म गरेको प्रयत्न असफल हुँदै आएका छन् । पछिल्लो समय विराटनगर–१६ मा जग्गा खरिद गरिसकिएकोले आवश्यक संरचना निर्माण गर्नुपर्ने दायित्व बाँकी छ । त्यहाँ आवश्यक पर्ने पूर्वाधार विकासका लागि यथोचित बजेट प्रवन्ध गरेर तत्काल कार्य बढाउन सके त्यसले शहरलाई र शहरका नागरिकलाई न्याय दिने देखिन्छ । सधैं एकै स्थानमा फोहोर फ्याँक्ने अवस्था नहुन पनि सक्छ । यदि ब्रम्हपुरामा फोहोर फ्याँक्ने अवस्था कुनै कारण रोकिए तत्काल शहरमा हैजा फैलन सक्ने स्थिति आउँछ । त्यसैले समयमै यसको व्यवस्थापनका लागि पहल लिनु जनप्रतिनिधिहरुका लागि श्रेयकर देखिन्छ ।