विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले तमु ल्होसारको शुभकामना वक्तव्यमा कोशी नाम उल्लेख नगरेको भन्दै आलोचना वहोर्नु परेको छ ।
आइतबार गुरुङ समुदायले तमु ल्होसार मनाउँदैछन् सोही अवसरमा मुख्यमन्त्री कार्कीको शुभकामना वक्तव्यमा कोशी नाम उल्लेख नभएको सन्दर्भमा आलेचना र प्रशंसा भईरहेको छ । सन्देशको दायाँ भागमा विराटनगर नेपाल मात्रै लेखिएको शुभकामना सन्देश सञ्चार माध्यमको मेलमा पठाइएको थियो । त्यसो त मुख्यमन्त्री कार्कीको आफ्नै सामाजिक सञ्जालमा समेत पोष्ट भएको थियो । तर, सार्वजनिक शुभकामना वक्तव्यको लेटरप्याडमा प्रदेशको नाम नभएपछि आलोचना सुरु भएको हो ।
यता, नामको सन्दर्भमा असन्तुष्ट जनाउने पहिचन पक्षधरहरुले भने मुख्यमन्त्री कार्कीलाई प्रशंसा गरेका छन् । फोजिनका .संघीय उपाध्यक्ष कमन देवान सामाजिक सञ्जालमा मुख्यमन्त्री कार्कीको शुभकामना वक्तव्य पोष्ट गर्दै लेख्छन्,‘ प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले नेतृत्व गरेको आन्दोलनको प्रभाव होला सायद । मुख्यमन्त्री केदार कार्कीबाट आएको तमु ल्होसारको शुभकामनामा प्रदेश १ का जनताले नचाहेको र बदरको माग गरेको कोशी उल्लेख भएन ।’ धेरैले मुख्यमन्त्री कार्की कुन प्रदेशका रहेछन् भनेर प्रश्न समेत गरेका छन् ।
सामाजिक सञ्जालमा आलोचना सुरुभएसँगै केही समयपछि सच्याइएको अर्थात कोशी प्रदेश लेखिएको शुभकामना वक्तव्य सार्वजनिक गरिएको थियो । मुख्यमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार लिलाबल्लभ घिमिरेले प्राविधि त्रुटि भएको बताए ।