विराटनगर । हरेक वर्षात्मा नागरिकको दुःख मानिएको केशलिया खोलालाई करिडोरको रुपमा विकास गर्ने योजना अगाडी बढेको छ । कोशी प्रदेश सरकारले केशलिया खोलाको अन्तिम बिन्दु रानीदेखि दुहबीको बुढीखोलासम्मको क्षेत्रलाई करिडोरको रुपमा विकास गर्न तयार अध्ययन प्रतिवेदन बिहीबार बुझेको छ ।
केशलिया–बुढीखोला करिडोर संरक्षण तथा विकास योजनाको विस्तृत परियोजना अध्ययन प्रतिवेदन अनुसार एक अर्ब ३२ करोड रुपैँया लागतमा दुहबी–रानीसम्मको ४२ किलोमिटर दुरीमा सडक पूर्वाधार, बाँध निर्माण र सौन्दर्यकरण गरिने छ । यो प्रतिवेदन अनुसार केशलियाको दुवैतर्फको नदी उकास क्षेत्रबाट सडक पूर्वाधार बन्नेछ । दुवैतर्फको किनार क्षेत्रमा कंक्रिट ढलानको बाँध लाग्नेछ ।
अध्ययन प्रतिवेदन निर्माणका लागि परामर्शदाता महेन्द्र सुव्वा र प्रशान्त मल्लले सुनसरीको दुहवी नगरपालिका, बर्जु गाउँपालिका र मोरङको बुढीगंगा गाउँपालिका र विराटनगनगर महानगरपालिकालाई छुने उक्त परियोजनाको प्रतिवेदन तयार पारेका हुन् । स्वीस सरकारको प्रदेश सहयोग परियोजना अन्तर्गत निर्माण गरिएको डिपिआर राजीव उपाध्यायले प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीलाई हस्तान्तरण गरेका थिए । लगतै मुख्यमन्त्री कार्कीले भौतिक पूर्वाधार मन्त्री कमल जबेगुलाई हस्तान्तरण गरेका थिए ।
विराटनगरको हाईवे पश्चिमका नागरिकले पूर्वाधारमा पछि पर्नु परेको गुनासो गरिहेका बेला केशलिया करिडोर निर्माणको प्रारम्भिक कार्य थालनीले यसका केहि उत्साह थपेको छ । त्यति मात्रै नभई सुनसरीको अमडुवामा नेपाल सरकारले निर्माण गर्ने भनिएको विशेष आर्थिक क्षेत्रका लागि यो पहुँच मार्ग हुनेछ ।
परियोजनाको प्रारम्भिक कार्य केशलियाबाट सुरु गरिने भएपनि यसमा बुढीखोलालाई समेत समेटिएको छ । जसको लक्ष्य भविष्यमा केशलियाबाट बुढीखोलातर्फ विकास डोहो¥याउने लक्ष्य राखिएको छ । अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रममा सुझाव दिदैं नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले औद्योगिक क्षेत्रका लागि समेत यसको दिर्घकालिन महत्व हुने प्रतिक्रिया दिएका थिए । उनले हाईवेसँग कुनै न कुनै रुपमा कनेक्सन गरेर यसलाई औद्योगिक क्षेत्रका लागि उपयोग गर्नुपर्ने बताएका थिए ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नदीको विनासमा चिन्ता जाहेर गरेर मात्रै नपुग्ने भएकोले यसको विकास जरुरी रहेकोले योजना अगाडी बढाउन लागिएको बताएका थिए । उनले तीनवर्ष भित्रमा प्रदेश सरकारको बजेटबाट पहिलो चरणको ४२ किलोमिटर दुरीको क्षेत्र निर्माण गरिसक्ने दावी गरेका छन् ।
मुख्यमन्त्री कार्कीले करिडोर निर्माणले वर्जु गाउँपालिकामा निर्माण हुने विशेष आर्थिक क्षेत्र(सेज)मा सहज पहुँचले समेत हुने भएकोले प्रदेशको आर्थिक समृद्धिमा सहयोग पुग्ने धारणा राखेका थिए ।
निर्वाचन क्षेत्र केन्द्रीत भएको आरोप
केशलिया–बुढीखोला करिडोर निर्माण अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री कार्कीलाई निर्वाचन केन्द्रीत योजना बनाएको आरोप समेत लागेको छ । सरकारले आठवटा स्थानीय तहका प्रमुख तथा उपप्रमुख समेतलाई निम्त्याएर करिडोरको विषयमा जानकारी गराउन खोजेको थियो । त्यसमध्ये इटहरी, धरान, केराबारीका प्रतिनिधि उपस्थित भएनन् । बृहत विराट क्षेत्र भित्र करिडोर निर्माणको लक्ष्य बुझाउने भनिएपनि मुख्यमन्त्रीको निर्वाचन क्षेत्र केन्द्रीत भएको भन्दै सुन्दरहरैंचाका प्रमुख केदार गुरागाँईले हाईवे नछोएको विकास परियोजनाले खासै काम नकाट्ने बताएका थिए । उनले निर्वाचन क्षेत्र केन्द्रीत योजना मुख्यमन्त्रीले ल्याएको भन्दै अध्ययन प्रतिवेदन बुझ्न अस्वीकार गरेका थिए ।
त्यसको जवाफ फर्काउँदै मुख्यमन्त्री कार्कीले यो करिडोरको प्रारम्भिक कार्य थालनी केशलियाबाट सुरु भएर बुढीखोला जोडिएसँगै त्यसको माग बढ्दै जाने दावी गरेका थिए । उनले निर्वाचन केन्द्रीत नभएको बताउँदै यसले मोरङ र सुनसरीका चार स्थानीय तहलाई छुने बताएका हुन् ।