-प्रमिला प्याकुरेल
म सायद पृथ्वी हुँ की ,
कहिलेकाँही भुइँचालो आएर हल्लाउने गर्छ मलाई।
जननी त पक्कै हुँ
ममता र मात्रित्वले घेर्ने गर्छ मलाई
सन्तान अंँगाल्दा भुइँचालोलाई पनि
चालै नगरी बाँध्ने गर्छु म।
आगो बल्न खोज्छु अनायासै
बाढी आएर डुबाउन खोज्छ
दह्रो भई किनारमा उभिन खोज्छु
अनेकौँ ईर्ष्याका ज्वालाले डढाउन खोज्छ
दुःख र पीडा रंगीन भएर अपूर्व क्यानभासमा रंगिन्छु म।
न म थाक्छु न म गल्छु
म महामारी भएर परिस्थितिसँग लड्दै छु।
म योद्धा हुँ अगणित रहरहरू
निर्जीव अङ्ग प्रत्याङगहरू बोकेर।
चार दिनको टालो लपेट्न भ्याउँदै युद्ध गर्ने।
विधतासँग परिस्थितिसँग अनि जीवनसँग।
बिसन्चो आएर नजिस्काउनु है मलाई।
मसँग पल्टने बिस्तरा सुगन्धित औषधि र पानीको अभाव हुन सक्ला।
अभाव तिमी डराउनु मसँग।
पानी पिएर जन्मौसम्म जन्माइरहन्छु सन्तोषहरू।
आँट हुँ म
कसैले खोसेर लान सक्दैन मबाट मेरा साहसिला विचारहरू
जन्म लिएर गर्नैपर्ने कर्तव्यपरायणताहरू ।
बिद्या र भावना हुँ
अनेकौं ज्ञान समेटेर जीवन,जीवन जस्तै बनाउने।
रंगीन सपना पूरा गर्छु तिम्रो कर्मसँग जीवन साटेर
तिम्रो धर्मसँग मन चढाएर।
आफ्नो अस्तित्व गुमाउँदै विराट लक्ष्य लिएर तिमीलाई साकार तुल्याउँदै
अन्त्यमा तिमीमा विलीन हुन्छु
आखिर केही हुँ म
म को हुँ चिन्यौ ?
तिमीलाई चिनाउन चाहन्छु
फर्केर हेर तिम्रो साथको समर्थन हुँ
निहुरेर हेर तिम्रो पाउको समपर्ण हुँ
तिम्रो जीवनको लक्ष्य हुँ
तिम्रो भोजनालको भोजन हुँ
तिम्रो बिस्तराको निद्रा हुँ म।
यति भएर त,
संसार रच्ने बिधाताको एक अंश हुँ ।
कहिल्यै नमासिने
जीवन जगतको वंश हुँ म।