-नवीन अभिलाषी
जतिबेला
मसँग कुनै नाम थिएन
र बदनामसम्म थिएन
म आफ्नै ठेगाना नभएको मान्छे थिएँ ।
मैले टेकेको धुलो पनि माथी उड्न खोज्ने,
यो कस्तो जमिन हो ?
मैले थुकेको थुक पनि सुक्न खोज्ने,
मैले हिँडेका बाटाहरु सबै भत्किन खोज्ने ।
ए आकाश
किन खस्छ मैले हेरेकै तारा
र किन आईपुग्दैन मेरै अध्यारो बस्तीमा ?
मैले गुन्गुनाउनै नसक्ने गीतहरु नै
किन चर्चित छन् ?
यो अनुरागसम्म नभएको शहरमा ?
मैले छाँया ओढेको रुखहरु भाँचिन खोज्ने,
यो कस्तो मौसम हो ?
मैले पिएका जरुवाहरु सुक्न खोज्ने,
म मुस्काएको देखेर
त्यो हिमालको हाँसो पनि पग्लिन खोज्ने ।
त्यो जुन पनि
मैले हेर्नु अगाडी नै दाग बोकेर बसेको छ ।
हेर्छु, जीवनको अन्तिम खल्तीमा
कि कहाँ नेर खसे होलान् – ति समयका सिक्काहरु ?
यौबनको किनार भत्काएर
त्यो समयको नदी – कुन मुग्लान पस्यो होला ?
को जन्मेको छ नाम लिएर यहाँ ?
र संसारमा ठेगाना बोकेर को आएको छ ?
तर त्यो को हो ?
जस्ले मेरो नाम मैलाई नसोधी राख्यो
र सदियौदेखि दास बनायो ?