काठमाडौं । नेपाल बास्केटबल संघको अध्यक्षमा भीमसिंह गुरुङ निर्विरोध निर्वाचित भएका छन्।
शनिबार सम्पन्न पाँचौं चुनावी साधारण सभाले अध्यक्ष गुरुङसहित ११ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो । गुरुङ यसअघि संघको कार्यबाहक अध्यक्ष समेत थिए ।
नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा जुमप्रसाद गुरुङ र मनीषकुमार हयोजु उपाध्यक्ष, नरेन्द्र थापा महासचिव, फनिन्द्रमान श्रेष्ठ सचिव तथा विष्णुहरि त्रिपाठी कोषाध्यक्ष निर्वाचित भएका छन् ।
पवनकुमार थापा, सरोजा कोइराला (श्रेष्ठ), बसन्तराज गिरी, राजकुमार महर्जन र लोकेन्द्रबहादुर सिंह सदस्यमा चयन भए ।
नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत सरोजकुमार पोखरेलले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गर्नुका साथै पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
साधारण सभाको उद्घाटन युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले गरेका थिए । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।