कडा सुरक्षा व्यवस्थाबिच बङ्गलादेशमा मतदान जारी

कडा सुरक्षा व्यवस्थाबिच बङ्गलादेशमा मतदान जारी

ढाका । बङ्गलादेशमा आइतबार जारी १२औं राष्ट्रिय निर्वाचनमा करिब १७ करोड जनताले २९९ प्रतिनिधि (सांसद) छान्न मतदान गरिरहेका छन् ।

प्रधानमन्त्री शेख हसिनाको राजीनामा र कामचलाउ सरकारद्वारा निर्वाचन गर्न गरेको विपक्षी दलको मागलाई बेवास्ता गरेको र यस्तो अवस्थामा हुने निर्वाचन स्वतन्त्र तथा निष्पक्ष हुनेमा आशङ्का गर्दै पूर्वप्रधानमन्त्री खालिदा जिया नेतृत्वको प्रमुख विपक्षी दल बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी)सहितका केही दलले आइतबारको मतदान बहिस्कार गर्ने घोषणा गरेका छन् ।

आइतबार बिहान ८ बजेपछि जारी निर्वाचनका लागि ४२ हजारभन्दा बढी मतदान केन्द्र निर्धारित गरिएको छ । अपराह्न ४ बजेसम्म मतदान केन्द्रभित्र लाइनमा पुगेका मतदाताले साँझ अबेरसम्म पनि मतदान गर्न पाउनेछन् । यो निर्वाचनका लागि कुल ११ करोड ९६ लाख व्यक्ति मतदान गर्न योग्य छन् । निर्वाचन आयोगका अनुसार लगभग करिब १२ करोड योग्य मतदातामध्ये झण्डै आधा महिला छन् भने पहिलो पटक मतदानका लागि योग्य बनेका मतदाताको सङ्ख्या लगभग एक करोड ५० लाख छ ।

अल जजिराका अनुसार प्रमुख विपक्षी दल बीएनपीको अनुपस्थितिमा प्रधानमन्त्री शेख हसिनाले लगातार चौथो कार्यकाल जित्ने अपेक्षा गरिएको छ । मतदानको प्रारम्भिक परिणाम सोमबार बिहानसम्म आइसक्ने बताइएको छ ।

बीएनपीले शनिबारदेखि नै हिंसा र प्रदर्शनकारीहरूमाथिको दमनका बीच ‘अवैध सरकार’ विरुद्ध ४८ घण्टे राष्ट्रव्यापी हडताल सुरु गरेको छ ।

सर्वोच्च अदालतले गत पुस ५ गते निर्वाचन आयोगलाई निर्वाचन अघि बढाउन अनुमति दिएको थियो ।

ढाका ट्रिब्यूनको रिपोर्टअनुसार स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले सुरक्षा चिन्तालाई उजागर गर्दै बङ्गलादेशभरका निजी अस्पताल र क्लिनिकहरूलाई स्वास्थ्य सेवाहरू सञ्चालन गर्न र शनिबारदेखि बुधबारसम्म आपतकालीन अवस्थाको सामना गर्न तयार रहन निर्देशन दिएको छ ।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा २७ दल र स्वतन्त्रसमेत गरी कुल एक हजार ५०० उम्मेदवारले प्रतिस्पर्धा गर्नेछन् । रासस/एएनआई

तस्बिर : एपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्