-अम्बिका अधिकारी
उहिल्यै म सानो छँदा
साथीसँग भाँडाकुटी खेलेका भाँडाहरु
अहिले कतै देख्दिनँ,
सायद यो बीचमा आएका
अनेकौँ बाढीहरुले बगाएर
परपर दूर देश पुर्यायो होला ।
हो, त्यतिबेलै हो
कसैसँग खेलेकी थिएँ मैले
बेहुला बेहुलीको निर्दोष खेल,
मेरो त्यो बाल खसम
अहिले यो पृथ्वीमा कहाँ छ र !
धन कमाउन परदेश गएको बरा
रातो बाकसमा सुतेर फर्कियो रे,
गाउँभरिका मान्छेहरुले
पखाले उसको चिता
मैले पनि कसैले नदेख्नेगरी
श्रद्धान्जलीका आँसु चढाएँ ।
गाई बाख्रा चराउन जान्थें बनमा
सन्तेले जङ्गल नै थर्किने गरी
मुरली बजाउँथ्यो,
नजिकै कलकल बग्ने खोल्सीको पानी
अन्जुलीमा उठाएर
घटघट पिउने गर्थेँ
लाग्थ्यो-- म अमृत पिउँदैछु,
मेरो छाती अलि उचालिएपछि
गाउँ छेउको देउरालीमा
आमासँगै तितेपाती चढाउँथेँ ।
बग्दैबग्दै
चिप्लिँदैचिप्लिँदै
घसृँदै घसृँदै
जिन्दगी यहाँसम्म आएर,
हो, यो कुइनेटोसम्म आएर
अड्किएको छ,
छोरीबाट बुहारी भएँ
बुहारी हुँदै आमा भएँ
हजुरामा भएँ
आज बिल्कुल एक्लै छु
जिन्दगीको यात्रामा सबैले
एकएक गर्दै छोडेर गएपछि
म अहिले
अन्तिम बाढी पर्खिएर बसेकी छु ।
झापा,विर्तामोड