नगर बस चलाउन संरचनामा लगानी गरौं

नगर बस चलाउन संरचनामा लगानी गरौं

कुनै अर्को परिस्थित नआएमा विराटनगर महानगरपालिका क्षेत्रमा नयाँ वर्ष २०८१ सम्ममा नगर बस सञ्चालन गर्ने बाटो खुल्ने देखिन्छ । लगानी प्राधिकरणमा निजी लगानीकर्ता विराटनगर यातायात प्रा.लि.ले आफ्नो प्रस्ताव पेस गरिसकेको छ । उसको प्रस्ताव मूल्यांकन समितिमा छलफलपछि लगानी बोर्डले दिएको स्वीकृतिसँगै कार्यन्वयनमा आउने छ ।

लगानी प्राधिकरण ऐन अन्तर्गतका सबै प्रक्रिया सकेर कार्यान्वयनका लागि स्थानीय तह विराटनगर महानगरपालिकासँग त्यसले सहकार्य गर्नेछ । विराटनगर महानगरपालिकाको योजना अनुसारकै परियोजनामा प्राधिकरणले लगानी जुटाउन सफल भएपनि त्यसको कार्यान्वयनका लागि आवश्यक पर्ने संरचनाको विषय कम चासोमा परेको देखिन्छ ।

विराटनगरमा नगर बस सञ्चालनका लागि पाँचवटा रुट यकिन गरिएको छ । ती रुटमा यात्रुहरुलाई सेवा दिने गरि बस सञ्चालन हुँदा सडकसँगै थप केहि संरचना जरुरी पर्ने देखिन्छ । नगर बस सञ्चालन हुँदा यात्रु चढ्ने र ओर्लने स्थान, ती स्थानमा प्रतिक्षालय र सुविधा, बस रोक्नका लागि सडकमा बस पकेट र सवारी जाम नियन्त्रणका लागि बाँकी केहि काम गर्नुपर्ने देखिन्छ । त्यस बाहेक बसको गन्तव्य स्थानमा पार्किङ, विद्युतीय बस भए चार्जिङ स्टेसन जरुरी पर्दछ ।

विराटनगर महानगरपालिकाले नगरवासीलाई सहुलियत दिने योजना बनाएर नगर बस सञ्चालन गर्ने कार्य कार्यन्वयनको चरणमा प्रवेश गरेसँगै त्यससँग थप संरचनाको काम गर्नुपर्ने हुन्छ । नगर बस सञ्चालन हुने रुटहरुका सडकको पार्किङ व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी चुनौतीपूर्ण छ । त्यसका लागि महानगरपालिकाले भाडा वा सार्वजानिक जमिनमा पार्किङस्थल निर्धारण गरेर सडकलाई खुल्ला बनाउन जरुरी हुन्छ ।

लगानीकर्ताले प्रत्येक एक किलोमिटर दुरीमा बस रोक्ने गरि ‘स्टप पोइन्ट’ को प्रस्ताव गरेको छ । यसको पहिचान गरेर यकिन नगरे बजार क्षेत्रमा सवारी जाम हुनसक्ने संभावना झन् बढ्ने छ । त्यस कारण महानगरपालिकाले योजना निर्माण गरेर पूर्ण कार्यान्वयनमा ल्याउन अगावै त्यसका लागि आवश्यक संरचना र पूर्व तयारी गर्न सके त्यसको सकारात्मक प्रभाव पर्नेछ । योजना बनाउने तर सार्थक कार्यान्वयन नगर्ने हो भने लगानीकर्ताहरु हच्किने र फिर्ता जानसक्ने संभावना बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्