काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकहरूका माग सम्बोधन गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री दाहालको बोलावटमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव डा बैकुण्ठ अर्याललाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । त्यहाँ दुवैलाई प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न निर्देशन भएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
धरानस्थित प्रतिष्ठान लामो समयदेखि समस्यामा छ । वृत्ति विकासका योजनामा नियमिततासँगै सुविधा माग गर्दै चिकित्सक आन्दोलनमा छन् । चिकित्सकको मागलाई व्यवस्थापनले सुनुवाइ नगरेपछि पदाधिकारी गैरजिम्मेवार बनेको भन्दै धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले गत आइतबार उपकुलपतिको कार्यकक्षमा ताला नै लगाइदिएका थिए । चिकित्सकको आन्दोलनले त्यहाँको शैक्षिक वातावरणसँगै उपचार सेवा पनि प्रभावित भएको अवस्था छ ।
प्रधानमन्त्री दाहालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पछिल्लो अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको सेवा प्रभावित हुँदा बिरामी र सर्वसाधारणले दुःख पाउने भएकाले यसलाई गम्भीररुपमा लिन निर्देशन दिएका हुन् ।