उत्तर कोरियाद्वारा ‘पानीमुनि हान्ने आणविक अस्त्र प्रणाली’ परीक्षण

<span class='c1'>उत्तर कोरियाद्वारा ‘पानीमुनि हान्ने</span> <span class='c2'>आणविक अस्त्र प्रणाली’ परीक्षण</span>

सियोल । उत्तर कोरियाले वासिङ्टन, सियोल र टोकियोको संयुक्त नौसैनिक अभ्यासको प्रत्युत्तरमा ‘पानीमुनि प्रहार गर्ने आणविक हतियार प्रणाली’ परीक्षण गरेको शुक्रबार जनाएको छ ।

संयुक्त अभ्यासले उत्तर कोरियाको सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको र त्यसको जवाफमा प्योङयाङले कोरियाको पूर्वी समुद्रमा निर्माणाधीन आफ्नो पानीमुनिको आणविक हतियार प्रणाली ‘हेल–५–२३’ को महत्त्वपूर्ण परीक्षण गरेको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ ।

गत वर्षको सुरुमा प्योङयाङले ‘रेडियोधर्मी सुनामी’ निम्त्याउन सक्ने दाबी गर्दै पानीमुनि आणविक हमला गर्ने कैयौँ ड्रोनको परीक्षण गरेको बताएको थियो ।

विश्लेषकहरूले प्योङयाङसँग त्यस्तो हतियार छ कि छैन भनेर प्रश्न उठाएका छन् । यसै साताको सुरुमा दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले दक्षिणी जेजु टापुको जलक्षेत्रमा संयुक्त नौसैनिक अभ्यास गरेका थिए ।

उक्त अभ्यासमा विमानवाहक युद्धपोत ‘युएसएस कार्ल भिन्सन’सहित तीन देशका नौ युद्धपोत सहभागी थिए । प्योङयाङको रक्षा मन्त्रालयका प्रवक्ताले शुक्रबार भन्नुभयो, “यो सैन्य अभ्यासले क्षेत्रीय स्थितिलाई थप अस्थिर बनाउने काम गरेको छ र यो उत्तर कोरियाको सुरक्षालाई गम्भीर खतरामा पार्ने कार्य हो ।”

उत्तर कोरियाले गरेको परीक्षणले ‘हाम्रो सेनाको पानीमुनि हान्नसक्ने आणविक हतियारमा आधारित प्रतिकारात्मक अवस्थालाई थप नजिक ल्याएको छ र यसले अमेरिका र उसका सहयोगीहरूको शत्रुतापूर्ण सैन्य युद्धाभ्यासलाई रोक्ने कायलार्ई जारी राख्नेछ,” प्रवक्ताले भन्नुभयो ।

हालैका महिनाहरूमा दुई कोरियाबीचको लामो समयदेखि तनावपूर्ण रहँदै आएको सम्बन्धमा तीव्र गिरावट आएको छ, दुवै पक्षले तनाव कम गर्ने प्रमुख सम्झौताहरू खारेज गरेका छन्, सीमा सुरक्षालाई बढावा दिएका छन् र सीमामा प्रत्यक्ष आक्रमणका अभ्यासहरू सञ्चालन गरेका छन् ।

उत्तर कोरियाली नेता किम जोङ उनले गत साता दक्षिण कोरियालाई आफ्नो देशको ‘प्रमुख शत्रु’ घोषणा गर्नुभएको थियो भने पुनर्मिलन र पहुँचका लागि काम गर्ने निकायहरूलाई निष्क्रिय भएको घोषणा गर्नुभएको थियो । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्