विराटनगर । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले संघीयताको विरोध भन्दा पनि बोझिलो र खर्चिलो रहको बताएका छन् ।
आइतबार संसदीय पत्रकार मंचले आयोजना गरेको परिचायत्मक कार्यक्रममा बोल्दै सभामुख विष्टले तीन तहको सरकार नेपालले थाम्न सक्दैन कि भन्ने आफूहरुको कुरा रहेको बताएका हुन् ।
‘हिजो पनि कुरा त्यही हो र अहिले पनि त्यही हो । अब संघीयता बलियो हुनुपर्छ भने आर्थिक रुपले सम्पन्न हुनुपर्यो । यसले आफ्नो औचित्य पुष्टि गर्नुपर्यो ।’ उनले भने,‘काम गर्न सक्नु पर्यो । एक वर्षयता हेर्दा सरकारले नै पूणर्ता पाउन सकेको छैन । सभामुख नै बनाउँदा पनि यही कार्यकालमा दोस्रो पटकमा म बनेको हो । यसले नकारात्मक सन्देश गएको छ । ’
यसलाई चिर्नका लागि पत्रकारका साथै सांसद र सिंगो प्रदेश लाग्नु पर्ने र आफ्नो औचित्य पुष्टि गर्नुपर्नेमा उनले जोड दिए । औचित्य पुष्टि गरेर थाम्न सक्ने अवस्था आयो भने किन खारेज गर्नु पर्यो र ? भन्ने प्रश्नमा उनले अहिलेसम्म सरकारले पूणर्ता नपाएको र कारण के हो भन्ने थाहा भएन बताए । उनले भने,‘‘मलाई जानकारीमा आएअनुसार केही दिनमा सरकारले पूणर्ता पाउँछ । सरकारले पूणर्ता पाएपछि फागुनको पहिलो हप्ताभित्रमा समितिको सभापति चयन सक्ने हाम्रो लक्ष्य छ ।’
उने भने, सभामुख बनाउँदा पनि सहमति नै भयो भने समितिका सभापति चयन पनि सहमतिबाटै फागुन पहिलो हप्ताभित्रै हुन्छ । त्यसपछि अरु विषयमा पनि विस्तारै काम अगाडि बढ्छ ।’ आफू प्रदेशले राम्रो गर्नुपर्छ भन्ने ठाउँमै रहेको बताउदै उनले भने,‘ मैले मात्रै गरेर हुँदैन ।’