कोशी प्रदेश : मन्त्रालयको बाँडफाँडमा सहमति जुट्न नसक्दा सरकार विस्तारमा ढिलाई

कोशी प्रदेश : मन्त्रालयको बाँडफाँडमा सहमति जुट्न नसक्दा सरकार विस्तारमा ढिलाई

विराटनगर । मन्त्रालयको बाँडफाँडमा सहमति जुट्न नसक्दा कोशी प्रदेशको सरकार विस्तारमा ढिलाई भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज (सोमबार) सरकार विस्तार गर्ने तयारी गरेका थिए । तर, नेकपा माओवादी केन्द्र र काँग्रेसबीच मन्त्रालय बाँडफाँडमा सहमति जुट्न नसक्दा सरकार बिस्तारमा ढिलाई भएको स्रोतले जनाएको छ ।

स्रोतले दिएको जानकारी अनुसार काँग्रेस भित्रै कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा द्वन्द बढेपछि केही ढिलाइ भएको हो । यता, मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रलाई एकजना मन्त्री सरकार विस्तार गर्ने तयारीमा रहेको भएपनि माओवादी केन्द्रले दुईजना मन्त्री पाउनुपर्ने माग राखेकाले केही समस्या आएको स्रोतले जनाएको छ ।

‘माओवादी केन्द्रको दुई वटा मन्त्रीमा ओके भएको थियो तर काँग्रेसभित्र पनि मन्त्रालयका लागि द्वन्द बढेको छ, काँग्रेसबाट इन्दिरा कार्कीलाई राज्यमन्त्री बनाउने तयारी रहेको थियो र माओवादी केन्द्रबाट मुख्यमन्त्रीले आज एकजनालाई मात्रै सपथ खुवाउने तयारी थियो ।’स्रोतले भन्यो, ‘माओवादी केन्द्रले पनि मानिराखेको अवस्था छैन, र काँग्रेसभित्रै पनि विवाद सुरु भएको छ आज कुरा मिल्यो भने आज नै सरकार विस्तार हुनसक्ला नत्र भोलीसम्म होला की ?’

यता, सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री शमसेर राईले केही प्राविधिक अहसजताका कारण सरकार विस्तारमा ढिलाई भएको बताए । सरकार विस्तारको जिम्मा मुख्यमन्त्री कार्कीले लिएको बताउदै उनले केही दिनमा सरकार विस्तार हुने बताए ।
‘आजै सरकार विस्तार नहोला, यसको जिम्मा मुख्यमन्त्री ज्युले लिनुभएको छ,’ उनले भने,‘केही प्राविधिक समस्या छन्, त्यही भएर दुई/तीन दिनमा सरकार विस्तार हुन्छ ।’

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्