पूर्वी नाका काँकडभिट्टाबाट तीन महिनामा डेढ अर्बभन्दा बढीको चिया निकासी

पूर्वी नाका काँकडभिट्टाबाट तीन महिनामा डेढ अर्बभन्दा बढीको चिया निकासी

विराटनगर । पूर्वी नाका झापाको काँकडभिट्टाबाट चालु वर्षको पछिल्लो तीन महिनामा एक अर्ब ६६ करोड रुपैयाँको चिया निकासी भएको छ ।

पूर्वको प्रमुख उत्पादन मध्येको चिया कात्तिकदेखि पुस मसान्तसम्म करिब २ हजार ७ सय ६८ मेट्रिकटन निकासी भएको हो ।

काँकडभिट्टास्थित प्लान्ट क्वारेनटाइन कार्यालयका अनुसार त्यति चिया निकासीबाट करिब एक अर्ब ६६ करोड ८ लाख आम्दानी भएको छ ।

कोशी प्रदेशका इलाम, पाँचथर, झापा, धनकुटा, तेह्रथुमलगायत जिल्लामा उत्पादन हुने चिया मुख्यतः भारत निकासी हुने गरेको छ ।

नेपाली चिया जर्मनी, फ्रान्स, अस्ट्रेलिया, बेल्जियम, बुल्गेरिया, चेक रिपब्लिक, इटाली, जापान, भारत, चीन, अमेरिका, बेलायतलगायतका देशमा चिया निर्यात हुँदै आएको छ ।

पछिल्लो समय समुद्रपार मुलुकमा नेपाली चिया लोकप्रिय भइरहेको चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

यसअघि आर्थिक वर्ष २०८०–८१ को पहिलो चार महिनामा ५७ लाख ७५ हजार किलोभन्दा बढी चिया निर्यात भएको थियो । त्यति चिया निकासीबाट डेढ अर्ब रुपैयाँ आम्दानी भएको तथ्यांक छ ।

इलामको फिक्कलका चिया व्यवसायी दिनेश अग्रवालका अनुसार विषादी प्रयोग नगरिएको अर्ग्यानिक चियाको माग समुद्रपारका मुलुकमा बढेको छ ।

चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा करिब २७ हजार हेक्टरमा चिया खेती हुन्छ ।

त्यति क्षेत्रफलमा वार्षिक २३ हजार ७ सय ४५ मेट्रिक टन चिया उत्पादन हुन्छ । चिया खेतीमा १७ हजारभन्दा बढी किसान आबद्ध छन् ।

बोर्डका अनुसार नेपालमा वार्षिक करिब दुई करोड ८० लाख किलो चिया उत्पादन हुँदै आएको छ ।

उक्त परिमाणमध्ये शून्य दशमलव ५० प्रतिशत चिया मात्र आन्तरिक बजारमा खपत हुने गरेको तथ्यांक छ । नेपालमा उत्पादित चियामध्ये करिब ९९ प्रतिशत कोशी प्रदेशमा उत्पादन हुन्छ ।

नेपालमा अर्थोडक्स चिया उत्पादन गर्ने ३० र सिटिसी चिया उत्पादन गर्ने ३८ गरी ६८ वटा ठूला चिया उद्योग सञ्चालनमा छन् ।

यसैगरी अर्थोडक्स चिया उत्पादन गर्ने एकसय ५० वटाभन्दा बढी साना प्रशोधन उद्योग सञ्चालनमा छन् ।

पूर्वबाट उत्पादन सुरु भएको चिया पछिल्लो समय दोलखा, रामेछाप, सिन्धुपाल्चोक, कास्की, लमजुङ, ललितपुरलगायत जिल्लामा चिया खेती विस्तार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्