पाकिस्तानमा निर्वाचन लक्षित बम विस्फोट, २५ जनाको मृत्यु, ४२ घाइते

पाकिस्तानमा निर्वाचन लक्षित बम विस्फोट, २५ जनाको मृत्यु, ४२ घाइते

कराँची । पाकिस्तानको बलुचिस्तान प्रान्तमा आम निर्वाचनको पूर्वसन्ध्यामा गरिएका दुई वटा विनाशकारी बम विस्फोटमा परि २५ जनाको मृत्यु भएको छ । घटनामा अन्य ४२ जना घाइते भएका छन् ।

बुधबार बिहान पिसिन जिल्लामा स्वतन्त्र उम्मेदवार अस्फन्दयार खान काकरको कार्यालय बाहिर शक्तिशाली विस्फोट हुँदा १७ जनाको मृत्यु भएको थियो । विस्फोटमा अन्य २५ जना घाइते भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

त्यसको एक घण्टा नबित्दै किल्ला अब्दुल्ला क्षेत्रमा जमियत–उलेमा इस्लाम–पाकिस्तानको चुनावी कार्यालय बाहिर अर्को बम विस्फोट भएको छ । उक्त घटनामा आठ जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएका छन् । बलुचिस्तान पन्जगुरका एक वरिष्ठ प्रहरी अधिकारी अब्दुल्लाह जेहरीले उम्मेदवार अस्फन्दयार खान काकरको निर्वाचन कार्यालय बाहिर भएको विस्फोटको घटनामा बम टाढाबाटै विस्फोट गराइएको र भवन बाहिर एउटा झोलामा राखिएको खुलेको बताए ।

‘केही घाइतेको अवस्था गम्भीर छ र उनीहरूलाई उपचारको लागि क्वेटा लगिएको छ,’उनले भने । विस्फोटमा परी मृत्यु हुनेमा अहिलेसम्म १७ जनाको शव भेटिएको तर मृतकको संख्या बढ्न सक्ने उनले बताए ।‘आतंकवादीहरूले चुनावी उम्मेदवारहरूलाई लक्षित गरी मानिसहरूलाई मतदान केन्द्रहरूमा जानबाट रोक्नको लागि लक्षित गरिरहेका छन् तर निर्वाचन निर्धारित समयमै अघि बढ्न सुनिश्चित गर्न सुरक्षाकर्मीहरू थप गरिएको छ,’जेहरीले भने । स्थानीय मिडिया रिपोर्टका अनुसार किल्ला अब्दुल्ला क्षेत्रमा जेयूआई उम्मेदवारको चुनावी कार्यालयमा भएको शक्तिशाली विस्फोटमा ठूलो क्षति भएको थियो, जसमा आठ जनाको मृत्यु भइसकेको छ ।

पाकिस्तानको निर्वाचन आयोगले दुई विस्फोटको पुष्टि गर्दै बिहीबार हुने निर्वाचनका लागि प्रान्तमा सुरक्षा व्यवस्था थप कडा पारिएको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्