विरानगर । तत्कालिन प्रदेश १ ले कोशी नाम पाएसँगै आन्दोलनरत रहेको पहिचान पक्षधरले फागुन १७ गते सबै जिल्लामा विरोध सभा गर्ने भएका छन् ।
यसअघि फागुन १७ गते ‘कालो दिन’ भन्दै प्रदेश बन्दको आव्हान गरेको प्रदेश १ को पूनःनामांकन संयुक्त सङ्घर्ष समितिले सरकारसँग भएको वार्तापछि आन्दोलनको स्वरूप परिवर्तन गर्दै विरोध सभा गर्ने निर्णय गरेको हो ।
बन्दको आव्हान स्थगन गरी उक्त दिनलाई ‘कालो दिन’ नामकरण गर्दै प्रदेशको १४ जिल्लामा विरोधसभा गर्ने भएको पुनः नामकरण संघर्ष समितिले जनाएको छ । कोशी नाम खारेजीको विषयमा प्रदेश सरकारसँग वार्ता चलिरहेकोले आन्दोलनको स्वरूप फेरिएको आन्दोलनरत पक्षले जनाएको छ । सरकारले वार्ताको क्रममा फागुनभरीमा आन्दोलनमा घाइते भएकाहरूलाई उपचार गर्ने र झुट्टा मुद्दा फिर्ता लिन सम्झौता गरेकोले त्यसलाई कार्यान्वयन गर्न पनि संघर्ष समितिले खबरदारी गर्ने जनाएको छ ।
प्रदेश सरकार र संयुक्त सङ्घर्ष समितिबीच गत माघ २६ गते भएको वार्तामा पुनः नामकरणमा सहमति हुने राजनीतिक वातावरण बनाउने तथा राजनीतिक गतिविधिमा अवरोध नगर्ने सहमति भएको थियो । पछिल्लो पटक फागुन ९ गते भएको दोस्रो वार्तामा आन्दोलनकारी पक्षले पहिलो वार्तामा प्रदेश सरकारले गरेको निर्णय कार्यान्वयन गर्न जोड दिएको थियो ।
फोटो:फाइल