विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङ शाखाले स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गरिनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । फोनिजले मंगलबार नेपाल पत्रकार महासंघ मोरङका कार्यवाहक अध्यक्ष मोहन भट्टराई, सचिव नेत्र पी अधिकारीलाई भेटेर सात दिनको अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएका हुन् ।
फोनिजको तर्फबाट अनुशासन समितिका संयोजक अर्जुन जम्मेली राई, फोनिज प्रदेश १ का इन्चार्ज भक्त शेर लिम्बु, अध्यक्ष सन्तवीर लामा, सल्लाहकार फिबराज बेघाको उपस्थितिमा मोरङ अध्यक्ष दिनेश सुब्बा र सचिव अनिल श्रेष्ठले नेपाल पत्रकार महासंघ मोरङ शाखामार्फत केन्द्रमा ज्ञापन पत्र बुझाएका छन् । अध्यक्ष सुब्बाले सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गरिनुपर्ने माग राख्दै सात दिनको अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएको बताए । फोनिजको माग प्रति नेपाल पत्रकार महासंघले बेवास्ता गरेको खण्डमा केन्द्रको सर्कुलेसन अनुसार आन्दोलनमा उत्रिने उनले चेतावनी दिए ।
ज्ञापन पत्र बुझ्दै नेपाल पत्रकार महासंघ मोरङका कार्यवाहक अध्यक्ष मोहन भट्टराईले सत्य र तथ्यका लागि लड्ने पत्रकारले इतिहासको तथ्यका सम्मान गर्नुपर्ने धारणा राखे ।नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई मान्ने गरिएको छ । २००८ सालमा नेपाल पत्रकार संघको स्थापना गर्दा श्रेष्ठ अध्यक्ष भएकाले उनलाई महासंघको संस्थापक अध्यक्ष घोषणा गर्नुपर्ने फोनिजको माग रहेको छ ।
स्वर्गीय श्रेष्ठ २००८ सालमा नेपाल टुडेको सम्पादक थिए । उनकै सभापतित्व र तरङ्गका सम्पादक भोजबहादुर सिंह न्यौपाने सचिव रहेको पहिलो पत्रकार संघको गठन भएको थियो । यसैले नेपाल पत्रकार संघका पहिलो सभापति सत्यनारायण बहादुर श्रेष्ठ नै रहेको तर्क गर्ने गरिएको छ ।
उनकै सभापतित्वमा गठन भएको नेपाल पत्रकार संघको दोस्रो सभा २००९ साल वैशाख २८ गते भोटाहिटीस्थित आर्य समाजको भवनको सभाकक्षमा भएको थियो । यो सभाले पनि सत्यनारायण बहादुर श्रेष्ठकै सभापतित्वमा नेपाल पत्रकार संघ पुनर्गठन गरेको थियो । यसको तीन वर्षपछि मात्र दोस्रो नेपाल पत्रकार संघको गठन भएको थियो ।
२०१२ साल चैत्र १६ गते पत्रकारहरूको बैठकबाट नेपाल पुकारका तत्कालीन सम्पादक कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति भएका थिए । सत्य नारायण बहादुर श्रेष्ठ भन्दा चार वर्ष पछि मात्रै नेपाल पत्रकार संघको अध्यक्ष बनेका कृष्णप्रसाद भट्टराईलाई संस्थापक सभापति भन्ने गरिएको प्रति फोनिजले आपत्ति जनाउँदै आएको छ । फोनिजले आज देशभरिको शाखा कार्यालय र प्रदेश कार्यालयहरूमा सत्यनारायण बहादुर श्रेष्ठलाई संस्थापक अध्यक्ष कायम गरिनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको छ ।