आर्थिक विकासमा सबैको एकिकृत पहल आवश्यक

आर्थिक विकासमा सबैको एकिकृत पहल आवश्यक

विराटनगर । आर्थिक विकासमा निजी क्षेत्र र सरकारबीचको सहकार्य जरुरी भएपनि सार्थक हुननसकेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशीले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा सहभागि स्थानीय तथा प्रदेश सरकारसँग सम्बन्धित प्रतिनिधि तथा निजी क्षेत्रमा आवद्धहरुले यस्तो बताएका हुन् ।

आर्थिक विकासका लागि सरकारले सहजीकरण गर्नुपर्ने तर्क निजी क्षेत्रका सरोकारवालाहरुले गरेका थिए । त्यसमा स्थानीय तहका जनप्रतिनिधिले भने निजी क्षेत्र सहकार्य गरेर अगाडी बढ्ने मनस्थितिमा नदेखिने गरेको बताएका हुन् ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रुमख नागेश कोइरालाले भलो चिताउने उद्देश्यले गरेका काममा समेत समर्थन गरेको भन्दै विराटनगरका व्यापारीहरुको आलोचना गरेका थिए । उनले विराटनगरको पार्किङ व्यवस्थापन गर्दा आलोचना गर्नेहरुले भन्सार जाँचपासमा कडाई गर्न गरिएको समन्वयमा समेत आलोचना नै गरेको बताए । उनले सडकको पार्किङ हटाउँदा व्यापार भएन भनेर भन्नेहरु अहिले पार्किङ सुविधा दिदाँ पनि व्यापार भएको कुरा नगर्ने गरेको बताए । यसैगरी भन्सार जाँचपासमा कडाई गरेर स्थानीय बजार प्रवद्र्धन गर्न समन्वय गर्दा तस्करहरुले घेराबन्दी गरेको गुनासो गरे ।

‘कुनै काम गर्न खोज्दा समर्थन हुँदैन भने कसरी सहकार्य हुन्छ’ कोइरालाले भने–विराटनगरको सबैको हो, मेरो कार्यकाल तीनवर्ष बाँकी छ, त्यसपछि म नागरिककै तहमा आउँछु, त्यसपछि जे निर्णय गरेपनि विरोध मात्रै गर्ने हो भने कसले बनाउँछ विराटनगर ?’ कोइरालाले आक्रोशित हुँदै भने–सहकार्य गर्नका लागि सहअस्तित्व स्वीकार हुनुपर्दछ ।
यसैगरी बुढीगंगा गाउँपालिकाका प्रमुख जीतनारायण थापा मगरले औद्योगिक क्षेत्र समेटिएको पालिकाको विकासमा सहयोग गर्न निजी क्षेत्रसँग आग्रह गरे । उनले निजी क्षेत्रले एउटै राज्यमा तीनस्थानमा कर बुझाउनु परिरहेको बाध्यता कसरी अन्त्य गर्ने भन्ने विषयमा छलफल आवश्यक रहेको बताए । यसैगरी कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले लगानी आकर्षण हुन नसक्दा सरकारले निर्माण गरेको संरचना समेत प्रयोगविहीन रहेको बताए । उनले निजी क्षेत्रले पनि आफ्नो जिम्मेवारीमा ध्यान दिनपर्नेमा जोड दिए ।

कार्यक्रममा निजी क्षेत्रका कतिपय व्यक्तिले आन्तरिक उत्पादनको खपत बढाउन सके मात्रै आर्थिक विकासमा सहयोग पुग्ने बताएका थिए । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भीम पौडेलले निजी क्षेत्र र सरकारबीचको समन्वय अभाव भए अर्थतन्त्रमा समस्या आउनसक्नेतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिए । उनले स्थानीय तहका सरकारहरुले आफ्नो क्षेत्रमा भएका उद्योगहरुलाई सहजीकरण गर्नुपर्नेमा जोड दिए । स्थानीय नागरिकलाई रोजगार दिईरहेका उद्योगको योगदानलाई कमजोर सम्झन नहुनेमा उनको जोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्