विराटनगर । झापा गोल्डकपको उद्घाटन खेलमा एपीएफ र संकटा बीच खेल हुने भएको छ ।
फागुन १९ गतेदेखि सञ्चालन हुने छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक भएको हो । खेल तालिका अनुसार झापा गोल्डकपको उद्घाटन खेलमा एपीएफ र संकटा बीच पहिलो खेल हुने आयोजकले जनाएको छ ।
गोल्डकपमा ए डिभिजन क्लबसहित १० टोली सहभागी हुने निश्चित भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ एफसीले संकटा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
उद्घाटन खेलको विजेताले सर्लाहीको बागमती युवा क्लबसँग पहिलो क्वार्टर फाइनल खेल खेल्नेछ ।
अर्को विभागीय टोली नेपाल पुलिस क्लबले फागुन २० गते ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग क्वार्टर फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।
त्यस्तै, फागुन २२ गते नेपाल पुलिस र चर्च ब्वाइजबीच हुने खेलको विजेताले न्युरोड टिम (एनआरटी) सँग दोस्रो क्वार्टर फाइनल खेल खेल्नेछ ।
तेस्रो क्वार्टर फाइनल खेल फागुन २३ गते विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले दुईपटक ए डिभिजन लिग च्याम्पियन बनेको मछिन्द्र एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।
अन्तिम क्वार्टर फाइनल खेल फागुन २४ गते झापा ११ एफसीले एन्फा मकवानपुरसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
अन्तर्राष्ट्रिय झापाली समाज मुख्य सहप्रायोजक र बिर्तामोड नगरपालिका संरक्षक रहेको झापा गोल्डकपको फाइनल खेल फागुन २८ गते हुनेछ । गोल्डकपको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउनेछ ।