पहाडी भेगमा बसेर संचारक्षेत्रमा भविष्य खोज्ने पत्रकार महिलाहरु

पहाडी भेगमा बसेर संचारक्षेत्रमा भविष्य खोज्ने पत्रकार महिलाहरु

सुजता लिम्बू
विराटनगर । नेपाली सञ्चार क्षेत्रमा महिलाहरुको उपस्थिति पुरुषको तुलनामा न्युन छ । त्यसमा पनि विस्थापित हुनेको संख्या पनि उत्तिनै छन्। भएका मध्ये रेडियो, एफ.एममा महिलाहरुको सहभागीता राम्रै देखिन्छ ।

प्रविधिको विकासमा नयाँ-नयाँ मोबाइलको विकासले गर्दा रेडियो सुन्नेको संख्या कम हुँदै गएको छ । मोबाइलमा नै रेडियो, क्यामेरा, ईन्टरनेटमार्फत युटयुब हेर्न मिल्ने भएकाले पनि रेडियोको प्रभाव घट्दै गएको छ । जसले गर्दा रेडियो, एफएममा कार्यरत सञ्चारकर्मीहरुको पेसा नै धरापमा पर्ने अवस्था सृजना भएको छ । यद्यपि पहाडी क्षेत्रमा भने रेडियोमा आवाज भर्नेहरुको संख्या घटेको छैन ।

मोरङको पथरी शनिश्चरेमा रहेको सिम्रिक एफएमबाट ५ वर्ष अगाडीदेखि संचार क्षेत्रमा पाइला अगाडी बढाएकी ताप्लेजुङकी एलिना दियाली रेडियोकर्मी हुन् । हाल ताप्लेजुङबाट प्रसारित रेडियो काबेलीमा कार्यरत छिन् । उनी नेपाल टेलिभिजनको संवादाता समेत हुन् । पहाडी क्षेत्रमा रेडियोको महत्व अझै नघटेको उनको भनाई छ । रेडियोमा बोल्ने त्यसमा पनि आफू माथि भएको अन्यायको विरुद्ध आवाज उठाउने उदेश्यका साथ रेडियोमा प्रवेश गरेकी उनी ताप्लेजुङको कुनाकन्दरामा आफ्नो आवाज सुनाइरहेकी छिन्। पहाडी क्षेत्रमा काम गर्न केही असहज भएपनि त्यसलाई सहज बनाउदै अगाडी बढ्नुपर्ने तर्क राख्दै उनी संचार क्षेत्रमा निरन्तरता दिनसके चुनौतीसँगै अवसर आफै आउने बताउछिन् । रेडियोमा काम गर्दा सुरुवातका दिनमा पुरुष सहकर्मीको सहयोग भएपनि कतिपय ठाँउमा ‘मिस विहेभ’ हुने गरेको पनि उनको भोगाई छ ।

उनी भन्छिन्,‘पुरुषसँग दुईचार पटक सँगै देख्दा नाम जोडिदिने र पुरुष पत्रकारहरुले यो महिला हो यसले बोल्न लेख्न सक्दैन भन्ने धारणा पनि राख्ने गर्छन् ।’ मञ्चबाट अग्रज दाईहरुको सकारात्मक धारणा आएपनि पितृसत्तात्मक सोँचले महिलालाई अगाडी बढ्न केही असहज हुने धारणा राख्दै उनी यस्ता सबै खालका परिस्थितिहरुलाई पन्छयाउदै अगाडी बढ्न सके संचार क्षेत्रमा चुनौती मात्रै नभएर अवसर पनि उत्तिकै रहेको सुनाउछिन् ।

यता, खोटाङकी सविना आछामी पनि रेडियोबाटै पत्रकारिता यात्रा आरम्भ गरेको सुनाउछिन् । रेडियोमा केही समय काम गरेर अहिले खोटाङकै स्थानीय पत्रिका र अनलाइनमा कलम चलाउदै आएकी छिन् । क्षमता भएकाले यो क्षेत्रमा काम पाउने भएपनि मिडिया हाउसको अवस्था धरासयी बन्दै गएकाले आर्थिक चुनौतीको सामना गर्नुपर्ने उनी बताउछिन् ।

पहाडी क्षेत्रमा तुलनात्मक हिसाबले रेडियो सुन्नेको संख्या केही घटेको भएपनि यसलाई व्यवस्थित रुपमा अगाडी बढाउन सके रेडियोमा कार्यरत संचारकर्मीहरु विस्थापित हुनबाट जोगाउन सकिने उनको धारणा छ । मानवीय क्षमता सामाजिक विकास अन्तर्गत भएकाले स्थानीय तहले पनि आफ्नो नीति तथा कार्यक्रममा संचारका विषयलाई समावेश गराउनुपर्नेमा उनी जोड दिन्छिन् । पेशागत सुनिश्चित नहुनाले पनि यो पेसाबाट पलायन हुने संख्या बढ्दै गएको बताउदै उनी भन्छन्,‘मेरो क्षेत्रमा त पत्रकार महिला म मात्रै हो, अरु दुईजना हुुनुहन्थ्यो लगभग उहाँहरु निस्क्रिय जस्तै हुनुहुन्छ ।’

पहाडी क्षेत्र त्यसमा पनि दुर्गम भएकाले रिपोर्टिङमा केही असहजता पैदा हुने र समयमा समाचार सम्प्रेषण गर्न समस्या भएको उनको अनुभव छ । इलामकी सुनिता खालिङ त्यहीँको स्थानीय एफएम र रेडियो नेपालमा कार्यरत छिन् । पत्रकार महासंघ इलामको उपाध्यक्ष समेत रहेकी उनी पेसालाई निरन्तरता दिन सके अवसर पनि पाइने गरेको अनुभव सुनाउछिन् । रेडियो सुन्ने अझैपनि गाँउघरमा चलन रहेको बताउदै उनले यसलाई विस्थापित हुन नदिन सरोकारवाला र तीन तहको सरकारले रणनिति तय गर्नुपर्नेमा जोड दिन्छन् ।

रेडियोबाट संचार जगतलाई बुझ्ने अवसर पाएको बताउने उनी आर्थिक, समाजिकरुपमा केही चुनौती आएपनि आफ्नो यात्रालाई टुंगोमा पुर्याउन कुनै पछी हट्न नहुने बताउछिन् । पहाडी क्षेत्रमा भौगोलिक विकटताका कारण रिपोर्टिङका क्रमका केही असहजता आएपनि यसको समाना गर्दै अगाडी बढ्न सक्दा रेडियो, एफएम र छापाका लागि कथा र पात्र पहाडी भेगमा नै भेटिने समेत उनको अनुभव छ ।
तेह्रथुमकी बबिता राई रेडियो मेन्छ्यायेममा कार्यरत छिन् । उनी राससमा समेत तेह्रथुम संवाददाताको रुपमा काम गर्दै आइरहेकी छिन् । रोडियोबाट संचारक्षेत्रमा पाइला अगाडी बाढएकी बबिता यो क्षेत्रमा काम गर्न सके अवसर थुप्रै रहेको अनुभव सुनाउछिन् । काम गर्नेकालागि चुनौतीसगैँ अवसरको बाटो पनि खुल्दै जाने उनी बताउछिन् ।

कहिलेकाँही रेडियोमा काम गर्दा पारिश्रमिक ढिला आउने हुँदा पेसा नै त्यागौँ जस्तो सोँच नभएको पनि होइन् । तर, अन्य संचार माध्यमहरुमा पनि काम गर्ने भएकाले आर्थिक पाटोमा टेवा पुग्ने गरेको उनी सुनाउछिन् । ‘पत्रकारितामा निरन्तरता चँही हुनपर्ने रहेछ, कहिलेकाँहीआर्थिक पाटो समस्याको विषय बन्छ ।’उनी भन्छिन्,‘ स्थानीय रेडियोसँगै तेह्रथुमबाट सिआइएन, रासस लगायतमा काम गर्नेभएकाले त्यसले पनि समस्या खासै पर्दैन ।’ उल्लेखित पात्रहरु पहाडी भेगमा बसेर पत्रकारिता क्षेत्रमा आफ्नो भविष्य खोज्दै आएका पत्रकार महिलाहरु हुन् ।
महेनत, धैर्यता र लगनशिलता भए चुनौतीका चाङहरुबाट एउटा अवसर झिक्न सक्ने उनीहरुको बुझाई छ ।

संचारक्षेत्रमा बदलिँदो प्राविधिक ज्ञान अनुसार आफूलाई ‘अपडेट’ गराउन सके सफलता प्राप्त गर्न भूगोलले छेक्न नकस्ने अनुभव उनीहरु सुनाउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्