इजरायलद्वारा गाजाको अल–शिफा अस्पतालमा सैन्य अभियान सुरु

इजरायलद्वारा गाजाको अल–शिफा अस्पतालमा सैन्य अभियान सुरु

गाजा सहर । इजरायली सेनाले गाजाको अल–शिफा अस्पतालको सीमित क्षेत्रभित्र लक्षित अभियान सुरु गरेको छ । गुप्तचर जानकारीलाई उद्धृत गर्दै सेनाले इजरायलविरुद्धको हमलाको समन्वयका लागि सुविधा उपयोग गर्ने वरिष्ठ हमास कार्यकर्ताहरू उक्त अस्पतालमा रहेको सङ्केत दिएको छ ।

इजरायल रक्षा बल (आइडिएफ) का प्रवक्ता आरएडिएम हगारीले अभियान ठोस गुप्तचरको जानकारीको प्रतिक्रिया भएको सोमबार बिहान बताउनुभयो । उहाँले अभियानको उद्देश्य सर्वसाधारणलाई नोक्सान पुर्‍याउनुको सट्टा हमास लडाकुहरूसँग लड्नु रहेकामा जोड दिनुभयो ।

“हमासका वरिष्ठ लडाकुहरू अल–शिफा अस्पतालभित्र पुनः भेला भएका छन् र अस्पतालको प्रयोग इजरायलविरुद्ध हमला गर्नका लागि भइरहेको छ भन्ने हामीलाई थाहा छ”, उहाँले भन्नुभयो ।

उहाँले नागरिकको हताहती कम गर्नका लागि सटीकता र सावधानीका साथ कारबाही गरिने बताउनुभयो । आइडिएफले अस्पताल परिसरमा बिरामीको सहायताका लागि अरबी भाषा बोल्नेहरू र चिकित्साकर्मीहरू परिचालन गरेको छ र नागरिकहरूलाई मानवीय सहायता प्रदान गरिरहेको छ ।

“बिरामी र चिकित्साकर्मीहरूका लागि अस्पताल खाली गर्नुपर्ने कुनै बाध्यता नभए पनि त्यहाँबाट निस्कन इच्छुक नागरिकहरूका लागि एउटा मार्ग उपलब्ध छ”, उहाँले भन्नुभयो ।

हगारीले हमासका लडाकुहरूलाई आत्मसमर्पण गर्न आग्रह गर्नुभयो र आतङ्कवादी गतिविधिका लागि चिकित्सा सुविधालाई कहिले पनि प्रयोग गर्न नहुने बताउनुभयो ।

यसैबिच अल जजिराका अनुसार गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जारी इजरायली कारबाही सम्बन्धमा विज्ञप्तिमा भनेको छ, “हामी अल–शिफा मेडिकल कम्प्लेक्सभित्र मेडिकल स्टाफ, बिरामी र विस्थापित मानिसको जीवनका लागि इजरायली कब्जालाई जिम्मेवार मान्छौँ ।”

“कब्जा गर्ने शक्तिले जे गरिरहेको छ, त्यो अन्तर्राष्ट्रिय मानवीय कानुनको घोर उल्लङ्घन हो, इजरायली कब्जाले अझै पनि विश्वलाई धोका दिन र अल–शिफा मेडिकल कम्प्लेक्समा हमलालाई सही ठहर गर्न आफ्नो बनावटी कथाहरू प्रयोग गरिरहेको छ”, विज्ञप्तिमा उल्लेख छ । रासस/एएनआई

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्