आज जाति तथा रंगभेदविरुद्धको अन्तर्राष्ट्रिय दिवस

आज जाति तथा रंगभेदविरुद्धको अन्तर्राष्ट्रिय दिवस

काठमाडौं । आज २१ मार्च अर्थात् जाति तथा रंगभेदविरुद्धको ५९ औँ अन्तर्राष्ट्रिय दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ ।

संयुक्त राष्ट्रसंघले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धी महासन्धि पारित गरेको थियो । त्यसयता हरेक वर्ष मार्च २१ लाई विश्वभरि जाति तथा रंगभेद उन्मूलन दिवसका रुपमा मनाउने गरिन्छ । दिवसका सन्दर्भमा नेपालमा पनि बिहीबार सचेतना, संघर्ष तथा छलफल र बहसका कार्यक्रमहरू हुँदैछन् ।
राष्ट्रिय दलित आयोग, संयुक्त राजनीतिक दलित संघर्ष समिति र गैरसरकारी संस्था महासंघले काठमाडौंमा गर्ने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रदेश र जिल्लाहरूमा पनि विशेष गरी दलित समुदायका संघसंस्था, राजनीतिकर्मी, अभियन्ता र सर्वसाधारणले विभिन्न कार्यक्रम गरी दिवस मनाउँदैछन् ।
संयुक्त राष्ट्रसंघले सन् १९६५ मा पारित गरेको जाति तथा रंगभेदविरुद्धको महासन्धि नेपालले सन् १९७१ मा अनुमोदन गरेको थियो । नेपालमा कानूनीरुपमै जातीय छुवाछुत र भेदभाव गर्नैपर्ने, नगरे दण्डनीय हुने व्यवस्था गरेर राज्यले संरक्षण दिएको भेदभाव ०६२/०६३ को जनआन्दोलनपछि फेरि कानूनी रुपमै बन्देज लगाइएको छ । तर व्यवहारमा भने समाजको ठूलो तप्का यस्तो भेदभाव र बहिष्कारबाट प्रताडित छ ।

नेपालमा पछिल्लो जनगणनाअनुसार दलितको जनसंख्या १५ प्रतिशत छ । पुनःस्थापित संसद् २०६३ सालमा नेपाललाई छुवाछुतमुक्त घोषणा गरेपनि अहिलेसम्म त्यसको प्रभावकारी कार्यान्वयन भएको छैन । जातीय भेदभावपूर्ण सोचकै कारण अहिले पनि दर्जनौँको ज्यान जानेक्रम छ भने सर्वसाधारण अमानवीय व्यवहारको शिकार बन्न बाध्य छन् । नेपालको संविधान ०७२ ले छुवाछुत विरुद्धको हक र दलितको हक गरी दुई वटा मौलिक हकको व्यवस्था गरेपनि व्यवहारमा भने न ती मौलिक हकहरुको कार्यान्वयन भएको छ, न त तीसम्बन्धित कानूनहरू नै बनेका छन् ।

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा जातीय भेदभाव र छुवाछुत प्रथाका कारण नेपालको मानव विकासमा १० प्रतिशत नकारात्मक असर रहेको दाबी गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्