‘बुर्खाको घुम्टो भित्र पनि काम गर्न सकिन्छ’

‘बुर्खाको घुम्टो भित्र पनि काम गर्न सकिन्छ’

सुजता लिम्बु
विराटनगर । मादिन खातुनले हुर्किएको समुदायमा छोरीहरुका लागि स्वतन्त्र पंख फिजाएर उड्ने छुट थिएन ।  बुर्खाको घुम्टो भित्र गुम्सिएका कयौँ सपनाहरु मुस्लिम समुदायका महिलाहरुको त्यही घुम्टो भित्रै विलिन भएका पनि छन् ।
बाल्यकालदेखि नै विद्रोही स्वभावकी मादिन राजनीतिक पृष्ठभूमिमा हुर्किएकाले समाज बुझ्न केही सहज भयो । किनकी उनको बुबा नेपाली काँग्रेसको सक्रिय नेता थिए । विराटनगर महानगरपालिका–६ मा जन्मिएकी मादिनको विवाह सोही वडामा नै भयो ।

उनी सँगै हुर्किएका कयौँ मुस्लिम समुदायका छोरीहरुले त विद्यालय समेत जान पाएनन् । उनले भने बुबा राजनीतिमा आवद्ध भएकाले पनि विद्यालयमा पाइला टेक्ने अवसर पाइन् । कक्षा ५ सम्मको अध्ययन मदरसाबाट सकिन् । त्यपछिको अध्ययन यात्रामा झण्डै विट मरेको उनी विगत सुनाउँछिन् ।

‘कक्षा ५ सम्म मैले विराटनगर–९ मा रहेको मस्जिदमा पढे त्यसपछि आमाले कक्षा ५ देखि उता नपढाउने निर्णय गर्नुभएको थियो, आमाको निर्णयमा बुबाको समेत समर्थन थियो ।’ उनले भनिन्, ‘मेरो पढ्ने सपना भएकाले छिमेकी देव थरको दाईलाई भनेर आफंै स्कुलमा एडमिसन गरे त्यसपछि यसरी नै पढाईलाई निरन्तरता दिएकी हुँ ।’
एसएलसीसम्म अध्ययन सकेपछि उनी विवाह बन्धनमा बाँधिन पुगिन् । विवाहपछि रोकिएको पढाई र राजनीति गर्ने चाहान झण्डै १२ वर्षसम्म विश्राम लिएको उनी सुनाउछिन् ।

सानैदेखि बुबाको राजनीतिक यात्रामा रहरले सहयात्री बनेर हिँडेकी उनले १६ वर्षको उमेरमा नेपाली काँग्रेसको क्रियाशिल सदस्य पाएकी रहेछिन् । विवाहपछि केही समय घरगृहस्थ व्यवस्थापनमा लागेकी मादिनले समाजिक काममा र राजनीतिमा फर्किने इच्छालाई जीवन्त नै राखेकी थिइन् ।
त्यसैले त उनी अहिले अल–आमाना मुस्लिम महिला नेपालको अध्यक्षको रुपमा कार्यभार सम्हालिरहेकी छिन् । हुन त यो संस्थालाई स्थापनासँगै स्थापित गर्नु त्यति सहज भने थिएन । परिवारसँगै सिंगो मुस्लिम समुदायसँग जुध्दै र बुझाउदै यो समुदायको महिलालाई समेट्न निक्कै सकस भएको अनुभव उनी सुनाउछिन् ।

‘सुरुमा त मलाई अफल हुसेन गुल्जार जि ले सक्रिय महिला यतिकै बस्नु हुँदैन भनेर उर्जा भर्दिनु भयो । त्यसपछि मेरो सक्रियताको कुरा नेपाली काँग्रेसको नेता डा. शेखर कोइराला समक्ष पु्र्याउनुभयो उहाँ पनि खुशी हुनुभयो र यसमा साथ दिनुभयो । मैले पनि मसँगै पढेका साथीहरु, छिमेकी लिएर गए यसमा मेरो बुबाको पनि ठूलो भूमिका र सहयोग छ ।’ उनी भन्छिन्,‘त्यसपछि यो संस्थाको जन्म भयो , त्यति सहज थिएन संस्थालाई अगाडी बढाउन ती सबै चुनौतीहरुलाई पार गर्दै आहिले अगाडी बढी रहेका छौँ । यहाँ नेपाली काँग्रेसका प्रदेश सांसद अमृत अर्यालले पनि सहयोग गर्नुभएको छ ।’

२०६७ सालमा स्थापना भएको यो मुस्लिम महिलाहरुको संस्थामा अहिले १०१ जना सदस्यहरु छन् । सबै सक्रिय रहेको उनी बताउछिन् । बुर्खाको घुम्टो भित्र पनि काम गर्नु सकिन्छ भन्ने यो उदाहरण पनि रहेको उनी बताउछिन् ।
‘पर्दा भित्र पनि मुस्लिम महिलाहरुलाई स्वरोजगार गर्न इजाजत दिएको छ ।’ उनी भन्छिन्,‘ हरेक समाजमा नकारात्मक धारणा राख्ने मान्छे हुन्छ तर सबैकुराहरुलाई समाना गर्दै जाने हो ।’ अहिले संस्थाको माध्यमबाट जनचेतना मुलक कामहरु गर्दै आइरहेको उनी बताउछिन् ।
महानगर, वडासँगको सहकार्यमा मुस्लिम समुदायको महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले व्युटीसियन सम्बन्धि तालिम समेत दिएको उनको भनाई छ ।

त्यसो त पहिले मुस्लिम महिलाहरुलाई शिक्षा, रोजगार लगायतको क्षेत्रमा सकस भएकाले यस्ता समस्यालाई चिर्न यो संस्था स्थापना भएको उनले बताइन् । विशेष ग्रामिण भेगमा महिला हिंसा विरुद्धको कार्यक्रमहरु गर्दै आइरहेको उनको भनाई छ । पहिले भन्दा अहिले मुस्लिम समुदायको महिलाहरुलाई घरबाट बाहिर निस्किन निक्कै सहज भएको उनी बताउछिन् ।

‘पहिले त घरबाट निस्किन नै निक्के समस्या हुन्थ्यो, हामीले काम गर्दा सक्छ कि सक्दैन भनेर प्रश्नहरु उठ्ने गर्दथियो,’ उनी सुनाउछिन्,‘अहिले स्थानीय सरकार आएपछि महानगर, वडाबाट सहयोग लिएर धेरै कार्यक्रमहरु गर्दै आइरहका छौँ ।’ अहिले रमजानको महिना भएकाले सबै रोजा (उपवास) मा हुने भएकाले यो महिना चाहीँ विश्राम गर्ने गरेको उनी सुनाउछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्