ईलाम-२ उपनिर्वाचन : यो पटक धर्म गुरुको आर्शिवाद कसलाई ?

ईलाम-२ उपनिर्वाचन : यो पटक धर्म गुरुको आर्शिवाद कसलाई ?

सुजता लिम्बू
विराटनगर । उपनिर्वाचनको मिति तय भएसँगै यतिबेला ईलाम निर्वाचन क्षेत्र- २ मा चुनावी सरगर्मी बढेको छ ।

नेकपा (एमाले) का तत्कालीन उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि गत भदौ २६ गते देखि इलाम २ रिक्त छ । वैशाख १५ गते उपनिर्वाचन तोकिएसँगै यतिबेला सबैको ध्यान इलाम- २ तर्फ मोडिएको छ । यो क्षेत्रमा सबैको ध्यान मोडिनुको कारण पहिचानको आन्दोलन र नेम्वाङको विरासत नै हो ।

स्व. सुवास नेम्वाङको निर्वाचन क्षेत्र त्यसमा पनि नेम्वाङले यो क्षेत्रबाट निर्वाचनमा हार बेहोरेको कुनैपनि रेकर्ड छैन । उनले थामेको एमाले विरासत जोगाउन एमालेले नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङलाई चुनावी मैदानमा उतारेको छ । त्यसो त नेम्वाङलाई बुवाको र पार्टीको विरासत थाम्न त्यति सहज भने देखिदैन । पछिल्लो समय तत्कालिन प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचानको आधारमा नामाकरणको माग राख्दै सडक आन्दोलनमा उत्रिएको पुनः नामाकरण संघर्ष समितिका साझा उम्मेदवार डकेन्द्रसिंह थेगिम पनि चुनावी मैदानमा उत्रिएका छन् । एमाले विरासत भत्काउनु र पहिचानको सम्बोधनसहित राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार लामो समय पत्रकारिता पेसामा अवद्ध रहेका नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज)का महासचिव समेत रहेका मिलन लिम्बू चुनावी प्रचारप्रसारमा सक्रिय देखिएका छन् ।

त्यसो त जसले किराँत धर्मगुरु आत्मनन्द लिङ्देनको आर्शिवाद प्राप्त गर्छ उसैले निर्वचान जित्छ भन्ने भनाई पनि छ । हुनपनि सुवास नेम्वाङ उम्मेदवार मनोनयन दर्तापछि किरात धर्म गुरु लिङदेनलाई दर्शन-भेट गर्न लारुम्बा (माङ्सेबुङ) पुगेकै हुन्थे । पवित्र धार्मिकस्थल लारुम्बा तीन पटक नेम्वाङले जितेको क्षेत्र हो । धर्म गुरु भेट्न नेम्वाङ मात्रै होइन, सो क्षेत्रबाट निर्वाचन लड्न तयार रहेको अन्य उम्मेदवारहरु पनि पुग्ने गर्छन । तर, ‘सेन्टिमेन्ट’ सँग जोडिएको कारण पनि गुरुको आर्शिवाद नेम्वाङले मात्रै प्राप्त गर्ने गरेको भनाईहरु पनि छन् ।
अहिले सो क्षेत्रमा उम्मेदवार बनेर निर्वाचनको मैदानमा उत्रिएका तीनजना लिम्बू ‘हाइलाइट’मा छन् । त्योसँगै पहिचानको आन्दोलनसँग जोडिएको विषय भएकाले पनि अब गुरुको आर्शिवाद कसलाई ? भन्ने बहसको विषय बनेको छ ।

केपी शर्मा ओलीको दर्बिलो साथ भएको सुहाङले धरानका स्वतन्त्र मेयर हर्क सम्पाङको साथ पाएका पहिचानको मुद्दा बोक्ने डकेन्द्रसिंह थेगिम र स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको साथ पाएका मिलन लिम्बूको सामना गर्नुपर्ने हुन्छ । त्यसो त उनकै बुवाका अघिल्लो निर्वाचनको प्रतिस्पर्धी नेपाली काँग्रेसका डम्बर खड्का पनि त्यति कमजोर उम्मेदवार भने होइनन् । बुवासँगको प्रतिस्पर्धामा ११४ मतले मात्रै खड्काले हार बेहोरेका थिए ।

पछिल्लो समय सुहाङ बलियो उम्मेदवारको रुपमा मानिन्छन् । तर, अन्य उम्मेदवार पनि त्यति कमजोर भने छैनन् । बुवाको मृत्युभएसँगै छोरालाई पार्टीले दिएको टिकट प्रति त्यहाँका पार्टी प्रति लामो योगदान गरेका एमाले नेता कार्यकर्ताहरु समेत रुष्ट रहेको स्थानीयहरुको भनाई छ । त्यही भएरपनि नेम्वाङलाई दिने मत लिम्बूद्धय डकेन्द्रसिंह र मिलनलाई बाँडिन सक्ने या तीनजनाको भोट काटिएर काँग्रेसलाई जान सक्ने पनि आंकलन छ । पहिचानको मुद्दा सँग जोडिएको विषय भएकाले लारुम्बाको मतदाताले अब सोँच्ने समय आएको पहिचानपक्षधरका नेतृत्वहरुहको बुझाई छ । संघीयताको विरोधमा खरो उत्रिएको रास्वपको आडमा चुनावी मैदानमा उत्रिएका मिलनलाई पनि जित निकाल्न त्यति सहज नरहको सोही क्षेत्रका एक संचारकर्मीले बताए । एमालेको लालकिल्ला रहेको सो क्षेत्रमा अघिल्लो निर्वाचनको समय भन्दा अहिलेको माहोल फरक रहेकाले पनि यसै अन्दाज लगाउन नसकिने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्