विराटनगर । सशस्त्र प्रहरी बलले २० औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ ।
मोरङको बुढीगंगा गाउँपालिका-१ मा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेडक्वाटर कंकालिनीले दिवसका अवसरमा आज (शनिबार) विविध कार्यक्रम गरी मनाएको हो ।
गण परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी शम्भु सुवेदीले राष्ट्रद्वारा निर्देशित गरिएका जिम्मेवारीहरुमा केन्द्रित रहँदै सशस्त्र प्रहरीले काम गरिरहेको बताए । उनले सशस्त्र प्रहरी बलको संगठनले दिएको जिम्मेवारी अनुसार सांगाठनिक लक्ष्य हासिल गर्न सधैं संयमित भएर काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन समेत दिए ।
सरकारले दिएको निर्देशन अनुसार सशस्त्र प्रहरीले आफ्नो काम कर्तव्य निष्ठापूर्वक गर्दै आएको बताउँदै सुवेदीले भने, ‘हामी सम्पूर्ण संगठनका सदस्यहरुको अनुशासन, कार्यदक्षता र व्यावसायिक जीवन नै हाम्रो आधारशीला भएकाले सबै सुरक्षा निकायसँग समन्वय गरेर एउटा पहिचान बनाउन सफल भएका छौं ।’
बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव लगायतले शुभकामना दिँदै सशस्त्र प्रहरीले गरेको कामको प्रशंसा गरेका थिए ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजेश घिमिरेको सभापत्विमा भएको कार्यक्रममा गणको आन्तरिक खेलकुदमा विजयी भएका खेलाडी, विभिन्न कार्यमा उत्कृष्ट भएका सशस्त्र प्रहरीलाई सम्मान र पुरस्कृत समेत गरिएको थियो ।
कार्यक्रमको अवसरमा विभिन्न गीतमा सशस्त्र प्रहरीले नृत्य समेत प्रस्तुत गरेका थिए ।