विचित्र पर्व, जहाँ नन्द–भाउजुको सम्बन्ध कस्न नयाँ वर्षको दिन सिस्नु हानाहान गरिन्छ

विचित्र पर्व, जहाँ नन्द–भाउजुको सम्बन्ध कस्न नयाँ वर्षको दिन सिस्नु हानाहान गरिन्छ

काठमाडौं । २०८१ सालको पहिलो दिन आज देशभर हर्ष र उल्लासका साथ नयाँ वर्ष मनाइँदैछ । ‘चार जात छत्तिस वर्णको फूलबारी’ नेपालमा विभिन्न जातजाती तथा समूदायले आ–आफ्नै तौर–तरिकाले नयाँ वर्ष २०८१ को स्वागत गरिरहेका छन् ।

बैतडीसहित सुदूरपश्चिममा धुमधामका साथ नयाँ वर्षको अवसरमा ‘बिसु’ पर्व मनाइँदै छ । चाडपर्वमा धनी सुदूरपश्चिम प्रदेशका नौं जिल्लामध्ये सात पहाडी जिल्ला (कैलाली र कन्चनपुर बाहेक)मा नयाँ वर्षको दिन बिसु पर्व मनाउने चलन रही आएको छ । चुलोमा पकाएका मिठा परिकार खाने, रमाइलो गर्ने र सिस्नु हानाहान गरेर मनाइँने यस पर्वलाई बिसु, (विस्का) वा विस्पती पर्व पनि भन्ने गरिन्छ ।

पूजापाठ र आफन्तसँगको भेटघाटको लागि यो पर्व विशेष हुने गरेको छ । बिसु पर्व मनाउनका लागि घरभित्र, घरबाहिर सरसफाइ, लिपपोत गरेसँगै शरीरको सरसफाइलाई समेत मुख्य रूपमा हेरिन्छ ।बच्चा, बिरामीदेखि वृद्ध सबैले बिसु पर्वको दिन नुहाउनु अपरिहार्य मानिन्छ । यो दिन अरू दिनभन्दा फरक तरिकाले नुहाइन्छ ।आफ्नाशरीरकाप्रत्येकअङ्गलाईसाबुनपानीलेमिच्दैकाखीकोविष (रोग) गयो, घुँडाको विष गयो, घाँटीको विष गयो, तिघ्राको विष गयो, पेटको विष गयो इत्यादि भन्दै सफा पानीले पखाल्दै जानुपर्ने स्थानीय संस्कृतिका जानकार मोहनदेव जोशीले बताए । यति भनेर सफासँग स्नान गरेपछि वर्षभरि कुनै रोग र प्रकोपको सामना गर्नु पर्दैन भन्ने जनविश्वास रहिआएको छ ।

सुदूरमा वसन्त ऋतुको रमझम, फूल फुलेर झलमल्ल, खुलेको आकाश, पालुवाको समय, गहुँ पाक्ने समय, जताततै हरियालीबिच नयाँ वर्षको सुरुवातसँगै बिसु पर्व मनाएर रमाइलो गर्ने चलन रहेको छ । बिसुको प्रमुख विशेषता नुहाइसकेपछि शरीरमा सिस्नु लगाउने गरिन्छ ।
सिस्नुको झन्झनाहटले शरीरमा रहेका रोगव्याधि हट्नुको साथै छालाजन्य रोगहरूबाट छुटकारा मिल्ने, निरोगी बनाउने जनविश्वास रहेको छ । शरिरमा सिस्नो लगाए मनसुनी ज्वरोले नच्याप्ने जन विश्वास छ । सिस्नु लगाउनुका साथै जिल्लाभरी घरमै सेलरोटी, खीर, पुरी, माँडा, बटुक, मासुलगायत स्थानीय स्वास्थ्यवर्धक मिठा परिकारहरू पकाएर बिसु मनाइन्छ ।

बिसुमा देवर र नन्दले भाउजुलाई खोजीखोजी पानीमा चोपेको सिस्नु लगाएर रमाइलो गर्ने गर्दछन् । भाउजुसँगै, नन्द, साला, साली, भिनाजु लगायतले समेत पानीमा चोपेको सिस्नो झोसेर बिसु पर्व मनाउने गरिएको बैतडीको दशरथचन्द नगरपालिका–९ का जानकार धर्मराज जोशी बताउँछन् ।
उनी भन्छन्, ‘देशभर हर्ष र उल्लासका साथ मनाइने यो पर्वलाई सुदूपश्चिममा आफ्नै तरिकाले मनाउने गरिन्छ । यहाँ खासगरी बैतडी, दार्चुला, बझाङ, बाजुरा, डडेलधुरा, अछाम र डोटीमा देवर–भाउजु, नन्द–भाउजु, साली–भिनाजुहरुले पानीमा हालेको सिस्नो हानाहान खेलेर बिसु पर्व मनाउने गर्दछन् ।’
लामो समयसम्म भेटघाट नहुने र मनमुटाव भइरहने नन्द भाउजूको नातालाई यो पर्वले कसिलो बनाउने विश्वास रहेको जोशीको भनाइ छ । नयाँ वर्ष अर्थात बिसु पर्व मनाउनकै लागि रोजगारीको सिलसिलामा भारतमा रहेका सुदूरपश्चिमेली एक साता अघिदेखि नै घर फर्किने तथा बिहे गरेर गएका छोरी चेलीसमेत माइत जाने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्