उच्च अदालतले मगायो गौशाला-२६ को जन्मदर्ता प्रमाणपत्र

उच्च अदालतले मगायो गौशाला-२६ को जन्मदर्ता प्रमाणपत्र

उच्च अदालत पाटनले सन्दीप लामिछानेबाट बलात्कारमा परेकी गौशाला-२६ को जन्मदर्ताको प्रमाणित प्रतिलिपि र उनले प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नको लागि दिएको निवेदनको सक्कल प्रति माग गरेको छ।

न्यायाधीश मुनेन्द्र प्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले यस्तो प्रमाणपत्र तादी गाउँपालिका-२ बाट मगाउन आदेश गरेको हो।

‘उक्त जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नको लागि दिएको निवेदनको सक्कलै प्रति एवम् जन्मदर्ता प्रमाणपत्रको स्पष्ट बुझिने प्रति तादी गाउँपालिका वडा नं. २ को कार्यालयबाट अविलम्ब माग गरी नियमानुसार पेश गर्नुहोला,’ उक्त आदेशमा भनिएको छ।

गौशाला-२६ को बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका सन्दीपलाई अधिकतम सजायको माग गर्दै उच्च सरकारी वकिलको कार्यालयले र आफूले सफाइ पाउनुपर्ने जिकिर गर्दै सन्दीपले दिएका पुनरावेदन मुद्दामा उच्च अदालत पाटनले आजदेखि सुनुवाइ थालेको थियो।

गएको पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो। पुस २५ गते सोही इजलासले उनलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको थियो। गौशाला २६ नाबालिग रहेको भन्ने जाहेरवाला र सरकारी वकिलको दाबीलाई जिल्ला अदालतले अस्वीकार गरेको थियो। जिल्लाले गौशाला २६ नाबालिग नरहेको भनेको थियो।

जिल्ला अदालतको सोही फैसला नमिलेको भन्दै उच्च सरकारी वकिल कार्यालयले फागुन २९ गते मंगलबार उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो। उक्त पुनरावेदन उच्च अदालतले फागुन ३० दर्ता गरेको थियो।

त्यसअघि सन्दीप लामिछानेले पनि जिल्ला अदालतले आफूलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको विपरीत उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए। त्यसपछि उनले थुना बाहिर बसेर पुनरावेदन गर्ने सुविधा पाएका थिए।

दुवै पक्षको पुनरावेदनमा एउटै मुद्दामा राखेर उच्च अदालत पाटनले चैत २३ गते दुवै पक्षलाई झिकाउन आदेश दिएको थियो।

मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको संयुक्त इजलासले दुवै पक्षलाई झिकाउने आदेश गर्दै आजका लागि पेशी तोकेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्