अव्यक्त प्रेम र व्यक्त शंकामा ‘मनसरा’ ट्रेलर

अव्यक्त प्रेम र व्यक्त शंकामा ‘मनसरा’ ट्रेलर

काठमाडौं । कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर रिलिज भएको छ ।

चार मिनेट लामो ट्रेलरमा यसअघि रिलिज टिजरका कुराहरुलाई थप व्याख्या गरिएको छ । टिजरमा प्रमुख पात्रलाई स्थान दिइरहँदा ट्रेलरमा अन्य कलाकारलाई पनि समेटिएको छ ।

राजधानीमा बुधबार एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरमा ‘बाहुन बाजे’ बनेका प्रवीण खतिवडा र ‘लिम्बुनी’ चरित्रमा देखिएकी मिरुनाको अव्यक्त प्रेम र त्यसले प्रवीणकी श्रीमतीको भूमिकामा देखिएकी मेनुकाका मनमा उत्पन्न शंका र द्वन्द्वलाई देखाइएको छ । ट्रेलरमा अभिनेता दयाहाङ राई र मिरुना विवाहित जोडी रहेको खुलाइएको छ । दयाहाङ घरमा नहुँदा मिरुना छोरा स्याहारिरहेकी हुन्छिन् । मिरुनाको जीवनमा प्रवीणको आगमनसँगै फेरिएका दिनपछि देखिएको डरलाई पनि स्थान दिइएको छ ।

यही वैशाख २१ गते रिलिज हुने फिल्ममा हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राई, विप्लव प्रतीकलगायतको अभिनय छ । ट्रेलरमा उपेन्द्रले अघिल्लो फिल्म ‘जारी’को जस्तै नयाँ फ्लेभर छोडेका छन् । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायाकार शैलेन्द्रध्वज कार्की हुन् । फिल्ममा विष्णुकुमार लिम्बू, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ र जीवन लिम्बू थाक्लुङ सह–निर्माता हुन् । फिल्ममा निमेष श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजन, श्रवलराज पाण्डेको साउण्ड डिजाइन, मानाहाङ लावती, मनिक शंखर र सुभम् चाम्लिङ राईको संयुक्त कला निर्देशन रहनेछ ।

सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक छन् । एप्पल इन्टरटेन्मेन्ट कम्पनीले फिल्मको वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्