इन्दु साह
विराटनगर । संखुवासभाको टुडिखेल भित्ता घर बताउने (हाल खाँदबारी–१) मेघा गुरुङ पाँच दिन यता विराटनगरको कोशी अस्पतालमा छिन् । उमेरले २० वर्ष बताउने गुरुङको देब्रे हातमा गम्भीर प्रकृतिको घाउ छ । घाउ क्रमशः बढ्दै छ र उपचार अभावमा सडेर झर्दैछ । कुहिनामुनीको भाग छैन । कुहिनामाथितर्फ क्रमशः हात पाकेर सर्दैछ ।
अभिभावकविहीन गुरुङ अस्पताल परिसरमा उपचार गरिदिएलान् की भन्ने आसामा देखिन्छिन् । तर, उनी चिच्याउन वा दुःख देखाएर सहयोग माग्ने हैसियतमा छैनन् । उनको उपचारमा कसैको ध्यान छैन । गर्मीका कारण पाकेको घाउ गन्हाउन थालिसकेको छ । अस्पताल प्रशासनले उनको उपचारका लागि रोहबरमा बस्ने अभिभावक नभएको भन्दै पन्छिने गरेपछि झन् बिजोकका दिन थपिदा छन् । उनी अभिभावकविहीन भएको बताउँछिन् ।
उनलाई वेवारिसे अवस्थामा रहेको देखेपछि विराटनगर–१२ का २५ वर्षीय किसन सहनीले मद्दत गरिरहेका छन् । अस्पतालमा मेरो उपचार गरिदिनु भनिरहेकी उनको अभिभावक बनेर रोहबरमा बसिदिने भन्दा पनि अस्पताल प्रशासनले भने इन्कार गरेको बताउँछन् । ‘म पनि बिरामीको कुरुवा हो, आफ्नै बिरामीलाई समय दिदैं उहाँको पनि उपचारका लागि पहल गरिरहेकी छु’ सहनी भने–तर सबैको उपचार गर्नुपर्ने सरकारी अस्पताल असाहयप्रति चासो देखाईरहेको छैन ।
साह्रै पीडामा छट्पटाई रहेकी गुरुङको उपचारका लागि आइतबार बिहानैदेखि उनले सहजीकरण गरिदिए । तर, अस्पतालमा तातो लाग्नु पर्ने स्वास्थ्यकर्मीले अलिकति पनि दया नदेखाउँदा सहनी आफैं निरास बनेका छन् । आपत्मा परेर अस्पताल परिसरमै छट्पटाई रहेकी गुरुङ बेसारा छिन्, सहारा दिनेको सहयोग पनि उनका लागि छैन ।