विकास सन्तुलनमा विराटनगरको सकारात्मक सोच

विकास सन्तुलनमा विराटनगरको सकारात्मक सोच

विराटनगरको विकासमा दक्षिण क्षेत्रलाई प्राथमिकतामा राखेर महानगरपालिकाले विकासका योजनालाई अगाडी बढाईरहेको छ । पूर्वमा कटहरी र जहदा गाउँपालिका, पश्चिममा केशलिया र सुनसरी जिल्ला, उत्तरमा बुढीगंगा गाउँपालिका र ग्रामथान र दक्षिणमा भारतसँग सीमा जोडिएको छ । कोशी प्रदेशको राजधानी र एकमात्रै महानगरपालिका भएका कारण विराटनगरको विकास सन्तुलन क्षेत्रगत रुपमा समान हुनु जरुरी छ । विराटनगरको विकासमा रोडशेष चौक उत्तर र दक्षिणको अवस्था फरक देखिन्छ । त्यसका विविध कारण छन् । पहिलो कारण हो दक्षिणतर्फ राज्य पुर्नसंरचना हुँदा जोडिएका नयाँ क्षेत्रहरु समेत रहेका छन् । विराटनगरमा यस अगाडी विकासको ठूलो परियोजना सञ्चालनमा आउँदा ती क्षेत्र उपमहानगरपालिका भित्र समेटिएका थिएनन् । अर्को कारण दक्षिणी क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक पनि थियो ।

छिमेकी देश भारतसँग जोडिएको दक्षिणी भू–भाग त्यसैपनि हेरेक हिसाबले विकसित देखिनु जरुरी हुन्छ । किनकी त्यसको महत्व देश भित्रै नभई छिमेकी देशसँग समेत जोडिन पुग्छ । पछिल्लो समय विराटनगर महानगरपालिकाको नेतृत्वले दक्षिणी क्षेत्रलाई विकास प्राथमिकता दिएको देखिन्छ । स्थानीय साधनस्रोतको परिचालनमा केहि ध्यान दिएको देखिन्छ । ऐतिहासिकस्थल विराट राजाको दरबार क्षेत्र, त्यससँग जोडिएका धार्मिक पोखरीको संरक्षण, सडक र नाला निर्माणको कामले प्राथमिकता पाएसँगै दक्षिणको रुपमा फेरबदल आउने संकेत देखा परेको छ । चालु आर्थिक वर्षसम्मका योजनासँगै भावी योजनामा समेत प्राथमिकता दिए त्यसले थप सार्थकता पाउने आसा स्थानीय नागरिकमा छ ।

निर्वाचनताका जनप्रतिनिधिका उमेदवारहरुले दक्षिणको विकास प्राथमिकतामा जोड दिने प्रतिवद्धता पनि जनाएका थिए । त्यो प्रतिवद्धता अनुसार पहिलो वर्ष महानगरपालिकाको उपस्थिति कमजोर भएको भन्दै वडाअध्यक्षहरुले गुनासो गरेका थिए । तर, क्रमशः बजेट वितरणमा महानगरपालिकाको मुख्य नेतृत्व प्रमुख र उपप्रमुख उदार देखिएसँगै केहि न केहि विकासका कामहरु थप भएर कार्यन्वयनको चरणमा देखिएका हुन् । यसले महानगरवासीमा विकासको अवसर, त्यसले शहरीकरण विस्तारमा योगदान बढाउने आसा जगाउन खोजेको छ । स्थानीय सरकार नागरिकसँग जोडिएको हुन्छ । जसले सबै नागरिकका लागि उतिकै प्राथमिकता दिनुपर्दछ ।

महानगरपालिकाले गरिरहेको विकासले समग्र दक्षिणी क्षेत्रका वडाहरुको सबै काम पुरा भएका भने हैनन् । अझै सडक पूर्वाधार, भवन पूर्वाधार, सुद्ध पीउने पानीको पहुँच, शिक्षा र स्वास्थ्यका अवसर कमजोर नै छन् । त्यसको असर नागरिकको जीवनस्तरमा पनि देखिन्छ । नागरिकको जीवनस्तर उकास्न विकासको समान वितरण हुनुपर्दछ । त्यसलाई आत्मासात गरेको महानगरपालिकाले आगामी बजेटमा समेत पछाडी परेका क्षेत्रहरुलाई प्राथमिकतामा राख्ने अपेक्षा नागरिकमा देखिन्छ । जनप्रतिनिधिहरुले नागरिकको मर्मअनुसारको कर्म गर्ने अपेक्षा विकासबाट मात्रै पुरा हुने बुझुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्