-देवराज तामाङ
संस्कृतिको अलौकिक चिहान उनै जन्मदात्री आमाहरू
हराएका पितृसत्ताको कालो गुफामा आज यी प्राण-दीपहरू
जन्मको मूल स्रोत तिनै, जीवन पाएका छैनन भरि
ढाकिएका परम्परागत आदर्शको अन्धकार-पर्दामुनी
माता मन्दिर मुर्ति र पृथ्वी तिनै
आफ्नै संस्कृतिमा वस्तुकरण गरिएकी माता नारी
त्यागको शिखर चुम्दै आफ्नै आकांक्षा मारी
जन्मदिने ममता नै सिमित भई परम आदर्शको सारी
कहिलेसम्म बोक्नुपर्ला यी अनगिन्ति विभत्स भारी?
कहिलेसम्म संस्कृतिले उनलाई वस्तु बनाउने छ?
कहिलेसम्म समाजले मुर्तिहरुमा मुख देखाउँदै जाने छ?
त्यागको जडित ग्रन्थी कहिले खुल्ने छ?
अन्धकारबाट बाहिर आउने बाटो कहिले देखिने छ?