- सुजा चापागाई
आमा आज पनि रुन्छिन् ,
वर्षौ पहिले रोएकी थिइन प्रसब पिडामा छट्पटिदै गर्दा
तर त्यो रुवाई,
खुसीको, सन्तोषको, गर्वको, अनि मातृत्वबोधको थियो।
आज पनि रुन्छिन् आमा,
आफुले आफ्ना सन्तानलाई हुर्काउदा खेप्नुपरेको त्यो पिडा झलझली सम्झिदै ..
सजाएकी थिइन् वर्षौ पहिले आफ्ना सन्तानको पालनपोषण गर्दै गर्दा अनेकौ सपनाहरु ।
आज पनि रुन्छिन् आमा,
आफ्ना सन्तानसङ्गको विछोडमा
अनेकौ गरेकी थिइन् कल्पना आफ्ना सन्तान्लाई
पराय देशको खातिर एयर्पोर्टमा विदाई गर्दै गर्दा
तर त्यो रुवाई
एउटा आशको थियो,
त्यो रुवाई खासको थियो।
देखेकी थिइन् सपना सन्तानको सुन्दर भविष्यको
सोचेकी थिइन् होलान् फर्केर आउनेछन् बुढेसकालमा साथ दिनेछन् ...
तर , आज पनि रुन्छिन् आमा आफै यस्तै असरल्ल छरिएका सपनाहरु बटुल्दै
पुरा भएन ति सपना आमाका जुन विदाईका हात हल्लाउदै गर्दा देखेकी थिइन् ...
सन्तानलाई विदाई गरेर फर्किदा मन भारी भएपनि
छर- छिमेकमा आफ्ना सुन्दर भविष्यमा उडान भर्न बोलाउनेछन् भन्दै भलाकुसारी गरेकी थिइन् ...
तर आज पनि रुन्छिन् आमा
एकपटक पनि नफर्किएका आफ्ना सन्तानहरुलाई सम्झिदै
र पटक पटक अझै पनि रुन्छिन आमा,
फेसबुकका भित्ताहरु वर्षेनी सन्तानले सुख, सम्बृद्दि,
एवम् सुस्वास्थ्यको कामना गर्दै वर्षौ पहिले खिचिएका आफ्ना तस्बिरहरु टाँसेको देख्दै ।।