इशु पन्त
विराटनगर । बच्चा छ महिना पुगेपछि बुबा र आमालाई चिन्छन् । बुबा र आमाको मुख हेर्नासाथ आफ्नो हाउभाउ फेर्छन् । हाँस्छन् र शारिरीक रुपमा प्रतिक्रिया देखाउँछन् । २०३४ साल बैशाख २६ गते जन्मनु भएका सोमेश पोखरेलका लागि त्यहि दिनदेखि जीवन संघर्ष सुरु भयो । हाउभाउ नदेखाएपछि बुबा सुशीलकुमार र आमा मिना पोखरेलले आफ्नो छोरा दृष्टिबिहीन भएकोले विशेष प्राथमिकतामा राख्नुभयो ।
तर, बुबाआमा लागि समेत त्यति सहज थिएन । ४६ वर्ष अगाडीका ती दिन आम सर्वसाधारण नागरिकका लागि सहज हुने पनि थिएन । आँखा नदेख्ने भएपनि आफ्नो छोराको स्मरण शक्ति र जान्न चाहने क्षमता उत्कट थियो । बोल्न थालेसँगै बार, साल, समय र महिना सोध्न थालेपछि बुबाआमाका लागि आसा पनि जागेको थियो । यस्तै क्रम चलिरहँदा सोमेशले सात वर्ष भएदेखि २०४१ सालबाट उहाँले दैनिक समय र पात्रोलाई सुक्ष्म अध्ययन गर्न थालेका थिए । रेडियो सुन्ने, सबैसँग घुलमिल गर्ने भएपछि उहाँलाई काठमाण्डौं पढ्ने अवसर खुल्यो । आफ्नै फुपुले काठमाण्डौंमा त्रिभुवन विश्वविद्यालय अगाडी दृष्टिविहीनहरुले अध्ययन गर्ने प्रयोगशाला भएको जानकारी दिएपछि उनलाई भर्ना गरियो ।
पहिलो दिन रात्रीकालिन बस चढेर काठमाण्डौं पढाउन लगियो । तर, दृष्टिविहीन भएका कारण घरदेखि टाढा रहँदा न्यास्रो मानेपछि उनलाई फर्काएर धरानको ज्ञानचक्षु विद्यालयमा भर्ना गरियो । भर्ना पनि त्यसबेलाका अञ्चलाधीशको आदेशबाट गरिएको थियो । ‘आफू ल्याब्रोटरी स्कूलमा पढेको तर घरबाट टाढा बस्न असजिलो भएको भनेपछि अञ्चलाधीशको मन पग्लिएर पढ्ने वातावरण खुल्यो’ उनले भने–बुबाआमाले गरेको संघर्षले मेरो चाहना पुरा भयो ।
कक्षा ७ सम्म धरानमा पढेपछि सोमेशका लागि तत्कालिन संभावना सकियो । त्यसपछि पुनः काठमाण्डौं जानुपर्ने भएपछि उनी पुगे । तर, कमजोर आर्थिक अवस्थाका कारण मासिक एक हजार ५०० तिरेर पढ्ने अवस्था नभएपछि उनी अल्मलिए । तर, शिक्षा परिषद्मार्फत कक्षा १० सम्म पढ्ने छात्रवृत्ति पाएपछि उनले पढाई सुचारु गरे । कक्षा १० सम्मको पढाईपछि उनका लागि उच्च शिक्षा पढ्ने अवसर थिए । त्यसपछि विराटनगर फर्केर महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा आईएमा भर्ना भए । समावेशीकरण कक्षामा बसेर उनले आईए उत्तिर्ण गरे । त्यसरी नै बीए समेत त्यहिंबाट उत्तिर्ण गर्न सफल भए । उनले आफूले सुनेर लेखेको विषय प्राध्यापकहरुलाई देखाउने गरेको सुनाए । ब्रेलमा कमलले खोपेर अक्षरको आकार दिएर लेखेको विषय देखाउँदै पढेका उनले परीक्षामा भने सहयोगी राख्ने सुविधा पाउँथे ।
जतिसुकै असजिलोमा पनि उनको आत्माविश्वासले स्नातक उत्तिर्ण हुन सफल सोमेशले २०६५ साल असार १९ गतेदेखि शिक्षकको रुपमा काम गर्ने अवसर पाए । अपाङ महासंघ विराटनगरले अपाङ्गता भएका व्यक्तिहरुका लागि कोटामा शिक्षकको विज्ञापन खुलेको जानकारी दिएपछि उनले बेलबारीस्थित लालभित्तीको कबीर विद्यालयमा दरखास्त दिए । उनी छनौट भएपछि शिक्षकको जीवन सुरु भयो । कबिरमा केहि समय पढाएपछि उनलाई विराटनगरमा काज सुरुवा गरियो । सत्यनारायण विद्यालयमा केहिबेर काम गरेपछि पुनः कबिरमै फर्काइयो । तर, २०७७ चैत १८ गतेदेखि आदर्श माध्यमिक विद्यालयमा विशेष कक्षा सुरु भएपछि उनलाई पुनः सरुवा गरेर ल्याईयो । अहिले आदर्शमा कार्यरत सोमेश सर सबैका लागि प्रेरक व्यक्तिको रुपमा काम गर्दै आएका छन् ।
उनी लाठी नबोकी एक्लै कहिले हिँड्दैन् । सेतो छठ्ठि सबै दृष्टिविहीन व्यक्तिहरुको सहारा बनेको छ ।
जब हामी सेतो छड्ढि प्रयोग गरिरहेका दृष्टिविहीन व्यक्तिलाई देख्छौं, हामीले आफ्नो सवारीसाधनको गति कम गर्नुपर्छ र उनीहरूलाई सम्मानपूर्वक बाटो दिनुपर्छ। यदि आवश्यक परेमा, हामीले निःसंकोच उनीहरूलाई बाटो पार गर्न वा ठाउँ पहिचान गर्न सहयोग गर्नुपर्छ। दृष्टिविहीनहरूलाई सार्वजनिक स्थानहरूमा सहज महसुस गराउन हामी सबैको सहयोग र सम्मान आवश्यक पर्छ। यस्तो व्यवहारले समाजमा सकारात्मक संदेश जान्छ र दृष्टिविहीनहरूलाई पनि आत्मविश्वास बढ्छ।
जीवन संघर्षका दौरानमा उनलाई धेरै किमिसका अनुभव पनि छन् । आफ्नै साथीहरुले दृष्टिबिहीन भन्दा बाटोमा सर्प रहेकोले तर्केर हिड्न भन्ने गरेका थिए । तर, वास्तविक सर्प नभएर आफ्नो अवस्थामाथि झुक्याउन बोलिएको कुरा थाहा पाउँदा उनलाई जीवनको अन्तिम क्षण सबैले सम्झनु पर्ने लाग्थ्यो । उनी भन्छन्–जीवनको उत्तरार्ध सबैका आँखा कमजोर हुन्छन्, दाँत झर्छन्, शरिर थाम्न नसक्ने भएर सहारा लिनुपर्दछ । उमेरमा आफू सपाङ्ग छु भनेर अपाङ्गता भएका व्यक्तिहरुलाई कसैले हेला नगरोस् । पोरखेलले आत्माविश्वास भए मात्रै पनि जीवनमा सफलता हाँसिल गर्न सकिने बताउँछन् ।
दृष्टिविहीन व्यक्तिलाई अन्य मानिस जस्तै सहयोग गरे मानव कल्याण हुने र दृष्टिविहीन व्यक्ति पनि समाजको ऐना र एक प्रतिष्ठित व्यक्ति रहेको उनी बताउँछन् ।