भगवान विष्णुको आठौँ अवतारको रूपमा जन्मनु भएका श्री कृष्णको जन्मदिनलाई धार्मिक रुपमा विशेष महत्वका साथ मनाउने चलन छ । यसवर्षको याो वार्षिक पर्व आगामी भाद्र १० गते पर्दछ । कृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् । कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती समेत भनिन्छ । जति नामले पुकारे पनि आखिर साधारण भाषामा जन्माष्टमी भनेको भगवान् कृष्ण जन्मनु भएको दिन हो ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न जन्मेका भगवान श्रीकृष्णले, सत्य र सत्कर्ममा प्रेरित गरेका थिए । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेताको द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा जन्म भएको हो । योे रातलाई मोहरात्री भनिन्छ।
कृष्ण जन्माष्टमीको यो पुण्य अवसरको भोलिपल्ट विराटनगरको विशेष पहिचान झल्कने राधाकृष्ण रथारोहण हुन्छ । जसमा आस्थाले भरिएका भक्तजनहरुले भक्तिपूर्वक भगवान कृष्णलाई नगर परिक्रमा गराउन सहभागि हुन्छन् । नेपालभरका कृष्ण मन्दिरहरूमा हुने विशेष कार्यक्रम भन्दा विराटनगरमा हुने रथारोहणको धार्मिक, साँस्कृतिक महत्व पृथक छ । जसले भगवानमा समर्पित मनमस्तिष्क मात्रै नभई शहरको सभ्यतालाई समेत प्रतिकात्मक सक्षमताको रुपमा प्रस्तुत गरिरहेको हुन्छ । त्यसैले पनि यसको महत्व धेरै छ । विराटनगरवासीको परिचय दिनुपर्दा राधाकृष्ण रथयात्रा जोड्न किन्चित अलमल गरिरहनु नपर्ने परिदृष्य देखिन्छ । तर, पृष्ठभूमिमा भगवान कृष्ण र उहाँको महत्व झल्काईएको कुरालाई स्मरण गर्न भुल्नु हुन्न । किनकी ‘राक्षसी प्रवृत्तिलाई भगवान कृष्णले मन पराउनु हुन्न ।’
विराटनगरको राधाकृष्ण रथयात्रामा विभिन्न धार्मिक सङ्घ÷संस्थाहरू, जातजातीद्वारा झाँकीसहित शोभायात्रा निकालिने चलन छ। कृष्णाष्टमी हर्षोल्लासपूर्वक मनाउने यो परम्परा वि.स. १९८८ मा खटयात्राबाट सुरु भएको थियो । २०२४ सालदेखि रथयात्रामा परिणत भएको यस महान् कार्यमा प्रत्येक वर्ष ५ लाख बढी भक्तजन सहभागी हुँदै आएका छन् ।
राधाकृष्णको युगल जोडीलाई रथमा राखेर तीनपैनीबाट रोडशेष चौकलाई फन्को मार्दै बरगाछीबाट पुनः तीनपैनीस्थित राधाकृष्ण मन्दिरमा बिसर्जन गरिन्छ । यो समाप्त हुँदासम्म भगवान् कृष्णमा आस्थावान्हरुले रथयात्रालाई विशेष रुपमा अवलोकन गर्ने, पूजा–आरधना गर्दछन् । यस क्रममा धर्मालम्बीहरुले आफ्नो स्वविकेकलाई कसरी शान्त र भगवान्सँग समर्पित गरिरहेका छन् भन्ने कुरा उनीहरुको कर्मबाट झल्कन्छ । भगवान श्रीकृष्ण सत्य र सत्कर्ममा प्रेरित गर्दछन् । यदि सत्य र सत्कर्ममा प्रेरित हुने धर्मानुरागीहरुले अर्कालाई हानी नोक्सानी पु¥याउने वा कुनैपनि क्षति पु¥याउने कर्म गर्नुहुन्न ।
रथयात्राका क्रममा अर्कोमाथि गलत मनस्थितिले गरिने छेडखानी, चोरी, पानी पीएर जथाभावी फोहोर फ्याँक्नेदेखि डिजेको धुनमा हुलहुज्जत गर्ने कार्य भगवानसँगको समर्पित मन हुन सक्दैन । आफ्नो कार्यले बाटोमा हिड्नेहरुलाई असर गरिरहेको हुन्छ भने पनि त्यो कहिं न कहिं पाप हो । अर्को कुरा शहरको वातावरणलाई सुधार्ने र सुन्दर बनाउने लक्ष्यसहित रोपिएका बिरुवामा क्षति पु¥याउने कार्यलाई समेत धार्मिक रुपले राम्रो मानिदैन । भगवानलाई मान्नु भनेको मानव हितलाई स्वीकार गर्नु हो । मानवहितलाई स्वीकार गर्ने मनसाय भनेको जीवन जोगाउने वातावरणको संरक्षण गर्नु हो । वातावरणको संरक्षण गर्नु भनेको फोहोर नपार्ने, प्रदुषणहरु नबढाउनु, रुख तथा बिरुवा जोगाउनु र हुर्काउनु पनि हो । त्यसैले भगवानको रथयात्रामा आस्था जोडिएर आउनेहरुले भगवानले भन्नु भएको सत्कर्मको उपदेशमाथि विश्वास राख्नु पर्दछ ।
धार्मिक मान्यता अनुसार देवकी तथा वसुदेवका आठौँ सन्तानको रूपमा कृष्णको जन्म भएको थियो। प्राचीन अभिलेखहरू तथा खगोलीय गणनाको आधारमा कृष्णको जन्म (भाद्र कृष्ण जन्माष्टमी) १८ जुलाई ३२२८ इसापूर्वमा भएको र १८ फेब्रुअरी ३१०२ इसापूर्वसम्म धर्तीमा रहेको मान्यता छ ।
भगवान् कृष्णको लिला, साहस, सौम्यमता अदम्य थिए । यहाँ सबै कुरा उल्लेख गर्न सकिन्न । तर, कसैमाथि हिंसा नगर्ने, अन्तर धार्मिक मान्यता नतोड्ने र मानवले मानवहितका लागि सोच्ने कुराले नै मानिस आस्तिक छ की नास्तिक भन्ने दर्शाउँछ । यसर्थ विराटनगरको रथयात्राका क्रममा समेत हामीले शहरमा हुर्केको, पढेको, बढेको शिक्षा लिएको, धार्मिक भावनालै जागरुक भएको परिचय दिनु जरुरी छ । त्यसैले भगवानको दर्शन गर्न आउँदा धार्मिक भावनाले ओतप्रोत भएर मात्रै सहभागि बनौं । आस्था बिनाको भेलाले मानव भीडलाई मात्रै संकेत गर्दछ, आस्थासहितको भेलाले भगवान कृष्णसँगको समर्मण दर्शाउँछ । उदाहरणको रुपमा हामीले कुरुक्षेत्रमा भएको कौरव र पाण्डवबीचको युद्धलाई हेर्न सकिन्छ । पाण्डवहरुको पक्षमा भगवान् कृष्ण थिए, जहाँ आस्था थियो तर संख्या कम । कौरवहरुसँग संख्या थियो तर आस्था थिए । जहाँ आस्था बिनाको संख्या हुन्छ त्यहाँ जीत हुँदैन । त्यसैले रथयात्रामा समेत आस्थासहित उपस्थिति हुँदा मात्रै मनोकाक्षा पूरा हुन्छ अनि विजयी ।