विश्वभर दशैंको विधि एउटै हो तर तिथि फरक पर्छ : धर्मशास्त्रविद् भट्टराई

<span class='c1'>विश्वभर दशैंको विधि एउटै हो तर</span> <span class='c2'>तिथि फरक पर्छ : धर्मशास्त्रविद् भट्टराई</span>

जहाँ जहाँ नेपाली पुगेका हुन्छन् त्यहाँ दशैं मनाउने चलन छ । विदेशमा रोजगारीका लागि होस या व्यापार गरेर बसेकाहरु उनीहरु दशैं मान्छन् । सबैले परम्परा अंगालेका छन् । देश अनुसार तिथिको कुरा फरक होला तर विधि उस्तै हो । तोकिएको साइतमा टीका लगाउने परम्परा छ ।
प्रा.डा.देवमणि भट्टराई
धर्मशास्त्रविद्

प्राध्यापक डाक्टर देवमणि भट्टराई नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक हुन । उनी वाल्मिकी क्याम्पसमा धर्मशास्त्र विभागमा कार्यरत छन् । त्यसका अलावा उनी नेपाल पञ्चाङ्ग निणर्ायक विकास समितिका सदस्य समेत हुन । हिन्दुहरुको महान पर्व वडादशैंका सन्दर्भमा कुराकानी गरेको छ ।

चैते दशैँ र वडा दशैँमा के भिन्नता छ ?
खासमा दशैँ चार वटा हुन्छन् । एउटा आश्विनमा मनाइने वडादशैं, त्यसैगरी चैते दशैँ, अर्को माघ शुक्लदेखि दशमीसम्म र अर्को आषाढ शुक्लदेखि दशमीसम्म गरेर चारवटा दशैं हुन्छन् । यि चारवटा दशैँको महत्व उत्तिकै छ । विशेष गरेर नेपालको सन्दर्भमा विजयको सुरुवातको रुपमा असोजको दशैँलाई मुख्य रुपमा लिने प्रचलन छ । यसमा भागवान राम पनि विजयको लागि यही समयमा हिड्नु भएकाले पौराणिक कथाहरु पनि यसमा जोडिएको छ । अन्य देवी देवताका धार्मिक पक्षहरु पनि यसमा जोडिएकाले बर्षका चारवटा दशैँ मध्ये असोजको दशैंलाईं वडादशैँ मानिएको हो ।

वडादशैंलाई विजयको प्रतिक पनि मानिन्छ, त्यसो किन भनिएको हो ?
पौराणिक कथाहरु अनुसार राम कुनै समय वनबास जानु भएको थियो । विजया दशमीका दिनमा नै उहाँ प्रस्थान गर्नु भएको थियो । यसलाई एउटा विजयीको प्रतिक मानियो । अर्को कुरा, देवीको आरधना गर्न वातावरणदेखि प्रकृतिका दृष्टिले पनि यतिबेलाको मौसम अनुकुल भएकाले यसको पृथक महत्व छ । यद्यपी यस वर्षको अवस्था प्रतिकुल भयो । मौसमले गर्दा प्राकृतिक अवस्था राम्रो भएन । तर सामान्यतया यतिबेला घामपानी जस्ता सबै कुराले उचित समय हो । वैज्ञानिक र प्राकृतिक हिसाबले पनि दशैंको विशेष महत्व छ ।

दशैं भनेपछि दश दिनसम्म पूजापाठ गर्ने गरिन्छ । दशदिनसम्म के के हुन्छ ?
दशैंका दश दिनको भिन्नाभिनै महत्व छ । प्रत्येक दिनको पौराणिक र धार्मिक विविध कारणहरु छन । तर नवरात्रको विशेष महत्व छ । नौ दिनसम्म उपवास गर्ने, पहिलो दिन जमरा राख्ने अनि नौ दिनसम्म क्रमशः यसको पूजा गर्ने प्रचलन छ । प्रत्येक दिनका पूजा र विधिहरु फरक छन् । घटस्थापनाको दिनमा शुभ साइतमा जमरा राख्छौ । त्यसलाई दशमीको दिनमा विसर्जन गर्छौ । दश दिनभित्र विशेष कार्य गर्नुपर्ने भएकाले सबै दिन विशेष महत्वका छन् ।

विश्वभर हिन्दुहरुको संख्या फैलिएकोछ । दशैँ मान्ने परम्परा वा तरिका ठाँउ अनुसार फरक हुन्छ कि एउटै हो ?
देश अनुसार तिथिको कुरा फरक होला तर विधि उस्तै हो । जस्तै घटस्थापनाको लागि अश्विन शुक्ल प्रतिपदा चाहियो, त्यो कहिले पर्छ तिथि हेरिन्छ । अष्टे्रलियामा यसपाली दशैँको साइत यहाँ भएको दिनको भोलिपल्ट छ । किनभने दशमी तिथिको प्रवेश भोलिपल्ट मात्र भयो । तिथिलाई एकदमै विशिष्ट मानिएको हुन्छ । बार, गते होइन तिथिलाई विशेष मानिएको हुन्छ ।

नेपालको सन्दर्भमा हिन्दुहरु भित्रै पनि विभिन्न जातजातीहरु छन् । उनीहरुले दशैंलाई फरक फरक तरिकाले मनाउने गर्छन् । कसैले सेतो टीका, कसैले रातो टीका लगाउँछन् । यस्तो भिन्नता किन ?
टीक लगाउने भनेको प्रकृति पूजकको रुपमा पनि हुन्छ । जसले प्रकृतिलाई पूजा गर्नुहुन्छ उहाँहरुको आफ्नै विधि छ । उहाँहरुले प्रकृतिबाट लिने भनेको सेतो हो । सेतो दही हुन्छ, अक्षता हुन्छ । दही र अक्षता सेतो भएको हुनाले उहाँहरुले आफ्नो विधि र भिन्नता छाड्नु भएको छैन् ।
अर्कोतिर रातो भनेको विजयको प्रतिक भएको हुनाले रातो टीका लगाइन्छ । दशैँ भनेको व्यक्ति, गाँउ, घर वा समाजको नभइ राष्ट्रको हो । त्यसकारण राष्ट्रले विजय प्राप्त गरेको दिनलाई पनि जोडिन्छ । हामीले त्यही भएर रातो लगाउँछौ तर सेतो टीका लगाउनु पनि अनुचित होइन । दशैँबाट एक खालको उर्जा प्राप्त गर्ने हो । वर्ष दिनसम्म पैसा जोगाएर, खेतीपातीबाट विश्राम लिएर मनाउने हो । दशैँैमा नौ दिनमा उर्जा प्राप्त गरेर बलशाली भएर अगाडि बढ्ने हो ।

नेपाल र भारतमा बस्ने हिन्दुहरु एउटै हुन् । तर उनीहरुले मनाउने र नेपालमा मनाइने दशैंमा केही फरक छ ? भारतमा किन दशहरा पूजा गरिएको ?
हामीले एउटा के गौरव गर्नुपर्छ भने अहिलेसम्म कसैको पराधिन भएनौं । हाम्रा धर्म, संस्कार, संस्कृतिहरु जे पूर्वदेखि आएका परम्परालाई डोहोर्याइरहेका छौं । यो अहिलेसम्म पनि जीवन्त छ । जस्तो सगरमाथाको उचाइ छ त्यसैगरि धर्म परम्परा पनि जीवित नै छन् । यसकारण मानिसहरु यहाँ रिचार्ज हुन आउने गर्छन् । नेपालमा त्यस्तो शान्त र नयाँ उर्जा दिने ठाँउहरु छन् ।

भारतमा रहेको परम्परा अंग्रेजको शासन भन्दा पहिला जस्तो रहन सकेको छैन् । तर नेपालमा अझै परम्परा कायम छ र यसकारण नेपालमा विजया दशमीका दिन टीका लगाउने जस्तो परम्परा कतै छैन् । यसलाई बचाएर राख्नु हामी सबैको कर्तव्य हो । हाम्रोमा विभिन्न खालको रथ यात्राहरु हुन्छन्, कुमारी पूजा हुन्छ । यस्तो खालको विशिष्ट परम्परा देशमा अझै जीवन्त छ । अन्य देशमा यो लुप्त हुदैँ गएको छ । राजसिंहासन नै छाडेर कुमारीको पूजा गर्ने चलन छ । विश्वमा सनातन धर्मको मर्म लुप्त हुँदै गएका छन् । त्यसकारण भएको संस्कृतीलाई जीवन्त राख्नुपर्छ । जीवन्त राख्न सक्यौ भने पक्कै पनि उचाई प्राप्त गर्न सक्छौ र यसको अनुशरण सबैले गर्न सक्छन् । दशैं सबैको हो, यो पर्व समावेशी छ ।

हुनत विश्वभर सनातन हिन्दुहरुले दशैंको पूजा गर्ने प्रचलन उस्तै हो । नवदुर्गाको स्थापना, जमरा राख्ने कुरामा कुनै कमी छैन् । पहिलो दिन, दोस्रो, तेस्रो, चौथो, पाचौँ दिन गर्ने पूजाहरुको कुराहरु उस्तै हुन् । छैठौ दिन बेललाई निमन्त्रणा गर्नुपर्छ । सातौ दिन फूलपाती भित्राउने कुराहरु सबैतिर होलान् तर हाम्रोमा शासन व्यवस्थाले केही परिवर्तन भयो होला तर विधि उस्तै हो । गोरखा दरबारको पूजा, हनुमान ढोकाको पूजा लगायत अन्य पूजा गर्ने परम्परा अन्यत्र कतै छैन् ।

भारत र बेलायतमा गोर्खा सैनिक व्यारेकभित्र दशैं मनाउने चलन छ । यसबारे हजुरलाई केही जानकारी छ ?
जहाँ जहाँ नेपाली पुगेका हुन्छन् त्यहाँ दशैं मनाउने चलन छ । विदेशमा रोजगारीका लागि होस या व्यापार गरेर बसेकाहरु छन् उनीहरु दशैं मान्छन् । उनीहरु सबैले परम्परा अंगालेका छन् । भारतले पनि गोर्खाली सेनाहरुले जे काम गर्छन् त्यसलाई सम्मानका साथ लाग्ने खर्च सरकारले दिएर राखेको छ । यसरी नै बेलायतमा पनि नेपालीहरु पुगेको हुनाले हाम्रो परम्पराको र धर्म संस्कृतिलाई ति देशहरुले सम्मान गरेका छन् । आफ्नो परम्परा नछोड्ने मानिसलाई जहाँ पनि मानिदो रहेछ भन्ने पनि यसले सन्देश दिन्छ ।

हिन्दु धर्म शास्त्रभित्र बलि प्रथालाई कुन रुपमा व्याख्या गरिएको छ ?
धर्मशास्त्रले के भन्छ भने यदी तिमी मासु खादैनौ भने बलि नदेउ । बाहुनहरुले बलि दिने विधा नै छैन् । तथापी बलि परम्परादेखि नै चलि आएको छ । यज्ञका लागि पशुहरुको दृष्टि गरिएको हो । वास्तवमा काम, लोभ, मोहको बलि दिनु पर्ने हो तर त्यो कुरालाई त्याग्नका लागि प्रतिकको रुपमा पशु बलि दिने चलन छ । नेपालको परम्परामा यो कुराहरु दशैँबाट भिन्न गर्न सक्दैनौ । यो चलिरहेको परम्परा हो । नखानेले नदिने ठिक छ, यसको विशिष्ट परम्परा रहेको हुनाले यसलाई छोड्नभन्दा कसरी गर्ने त्यसबारे सोच्नुपर्छ । व्यवस्थित गर्न सक्नुपर्छ ।

नेपालमा विभिन्न धर्म मान्ने समुदायहरु छन् । बौद्ध धर्मावलम्वीहरुले पनि दशैँ मान्छन । हिन्दु र वुद्धिष्टहरुको दशैँमा के भिन्नता छ ?
त्यस्तो धेरै भिन्नता छैन । उनीहरु पनि साइतमै सबै कर्म गर्छन । जति पनि मानिसले दशैँ मनाउनुहुन्छ, मनाउनेहरुले त्यो दशैँको साइत नै पर्खिनु हुन्छ । यो सबैले त्यही अनुसार मनाउने गर्छन् भनेपछि यो त राष्ट्रव्यापी पर्व हो ।

दशैंका प्रत्येक दिनको पृथक महत्व छ । तर घटस्थापना र फूलपातीको किन बढी चर्चा हुन्छ ?
घटस्थापना भनेको के हो भने दियो, कलश, गणेशको पूजा गरेर घडामाथि एउटा थाली राखेर देवीको यन्त्र लेखेर त्यसमा देवीलाई स्थापना गर्ने हो । घटस्थापना भनेको घडाको र देवीको स्थापना हो । यो क्रम पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौ र छैठौ दिनसम्म यस्तै विधि अनुसार कर्म गरिन्छ । छैठौ दिनमा विशेष के हुन्छ भने त्यो दिन भगवती दुर्गाको पूजाको लागि आवश्यक पर्ने सामग्रीमा बेलपत्रहरु राखिन्छ । त्यसका निमन्त्रण छैठौ दिनमा गरिन्छ । बेलपत्रको रुखमा गएर निमन्त्रणा गर्नुपर्छ । फूलपातीका दिन त्यहाँबाट त्यो बेलका पातहरु टिपेर, फलहरु टिपेर ल्याएर पूजा कोठामा राख्छौ । फूलपातीको दिन पूजा गरेर घर घुमेर सम्भव भएसम्म भित्राउने हो ।

किनभने त्यो पत्रहरुमा पनि देवीहरुको बास हुन्छ । नौं खालका फूलहरु र बेलका फलहरु ल्याउनुपर्छ । भोलिपल्ट अष्टमीका दिन पहिलादेखि दुर्गासँगै नौ वटी देवीको पूजा गर्छौ । केराको पात चामलको थुप्रो लगाउने पूजा गर्ने अनि त्यहाँ चढाइएको प्रसाद टीका लगाउँदा प्रयोग गर्छौ । नवमीको दिन पहिला थापेको देवी र नौ वटा कन्यालाई पूजा गर्ने र खुवाउने गरिन्छ । त्यसपछि मान्यजनको हातबाट टीका लगाउँछौ ।
पितृहरुको सम्मान गरिसकेपछि जीवितहरुको सम्मान दशैंमा गर्ने हो । अरुबेला गरेपनि दशैँमा विशेष रुपमा सम्मान गर्ने चलन छ । उहाँहरुको आशिर्वाद लिने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्