बुनु थारु/रासस
काठमाडौँ । आफू एचआइभी सङ्क्रमित भएको थाहा पाउँदा धरानका खगेन्द्र खड्कालाई संसारै अन्धकार लागेको थियो । एकातिर परिवार र समाजले के भन्ला भन्ने भय, अर्कोतिर अब धेरै बाँचिदैन भन्ने डर । लागुऔषध प्रयोग गर्ने क्रममा २६ वर्षअघि उहाँमा एचआइभी देखिएको थियो ।
सङ्क्रमण पुष्टि भएको पाँच वर्षसम्म पनि उहाँ लागुऔषधबाट मुक्त हुन सक्नुभएन । २०६३ सालमा एक पुनःस्थापना केन्द्रको सहयोगमा उहाँ दुव्र्यसनीबाट मुक्त हुनुभयो । त्यसयता खड्का विभिन्न सामाजिक संस्थामा आबद्ध भइ सङ्क्रमितका हितमा वकालत तथा परामर्श दिँदै आउनुभएको छ । एचआइभी सङ्क्रमण भएकै कारण विभेद र लाञ्छना भोग्नुपरेको सङ्क्रमित सँग धेरै अनुभव छन् ।
२३ वर्ष अघि खड्काको एक दुर्घटनामा हात भाँचिएको थियो । उहाँ उपचारका लागि अस्पताल पुग्दा रिपार्टमा सङ्क्रमित भएको थाहा पाएपछि स्वास्थ्यकर्मीले ‘प्लाष्टर’ गर्नुपर्नेमा ‘ब्यान्डेज’ मात्र गरेर पठाइदिएका थिए । जसले गर्दा उहाँको एउटा हात अझै राम्रो अवस्थामा छैन । खड्का एचआइभी सङ्क्रमितप्रतिको दृष्टिकोण पहिले र अहिलेमा आकाश जमिनको फरक रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मलाई सङ्क्रमण पुष्टि भएको त्यो समय र अहिले फरक छ । समाजमा लाञ्छना भोगिरहेका होलान् तर पहिले भन्दा निकै कम छ ।” उहाँकाअनुसार नियमित औषधि सेवन, स्वस्थ्य जीवनयापन तथा पौष्टिक आहारले एचआइभी सङ्क्रमित सक्रिय जीवन बाँच्न सक्छन् । उहाँ भन्नुहुन्छ, “एड्सबाट सुरक्षित रहन परिवार तथा समाजलाई सजग गराएको छु । सबैले सुरक्षित व्यवहार गर्नुपर्छ । मेरी श्रीमती र दुई जना बच्चा छन् । उनीहरु कसैमा पनि सङ्क्रमण छैन ।”
राष्ट्रिय एचआइभी तथा एड्स महासङ्घ नेपालका अध्यक्षसमेत रहनुभएका उहाँले सकारात्मक सोचले नै जीवन बाँच्ने ऊर्जा प्रदान गर्ने बताउनुभयो । सङ्घले सङ्क्रमितको जीवन राम्रो बनाउने, जोखिमपूर्ण समुदायको परीक्षणद्वारा पहिचान गराउने र थप जोखिमबाट बचाउने काम गरिरहेको छ ।
२६ वर्षीया यशोदा तिमिल्सिना एचआइभी सङ्क्रमण पुष्टि भएपछि आफू जस्तै थुप्रै सङ्क्रमितलाई यसबारे पैरवी र परामर्श दिँदै आउनुभएको छ । उहाँको सुझाव छ,“पहिले यो रोगलाई प्राणघातकको रुपमा लिइन्थ्यो । अहिले त्यस्तो अवस्था छैन । सङ्क्रमण हुने वित्तिकै डराउनु र आत्तिनु पर्दैन किनकी लामो जीवनयापन गर्न औषधि उपलब्ध छन् । ” राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२३ को अन्त्यसम्म नेपालमा ३० हजार तीन सय व्यक्तिमा एचआइभी सङ्क्रमण भएको अनुमान छ ।
सन् २०२३ मा चार सय ५७ व्यक्तिमा एचआइभीको नयाँ सङ्क्रमण भएको अनुमान गरिएको छ । सन् २०२३ मा मात्रै दुई सय २१ व्यक्तिको एड्सका कारण मृत्यु भएको अनुमान गरिएको छ । नेपालमा एचआइभी सङ्क्रमणको उच्च जोखिममा सूईद्वारा लागुपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, जेलमा रहेका कैदी, पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी र रोजगारीका लागि विदेशिनेहरु छन् । यीमध्ये सुईद्वारा लागुपदार्थ प्रयोग गर्नेहरु र पुरुष समलिङ्गी यौनकर्मीमा सङ्क्रमण दर अरु जोखिम समूह भन्दा उच्च छ ।
नेपालमा सन् २०३० सम्ममा एड्सको महामारी अन्त्य गर्ने लक्ष्य हासिल गर्न ९५ प्रतिशत एचआइभी सङ्क्रमितले आफ्नो सङ्क्रमण अवस्थावारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशतको औषधि उपचारमा पहुँच हुने र ती औषधि खानेमध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार (भाइरल लोड) न्यून हुनुपर्ने भनिएको छ । हरेक वर्ष डिसेम्बर १ का दिन विश्व एड्स दिवस मनाइन्छ । यो वर्ष ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ भन्ने नाराका साथ ३७औँ एड्स दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।