काठमाडौँ । नेपाली गीतसङ्गीतमा ‘र्याप’ को छुटै स्थान छ । भनिन्छ, र्यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ र नयाँ पुस्ताको प्रतिनिधित्व पनि गर्छ । लोकगीत र सुगम सङ्गीत नेपालमा रुचाइने सदाबहार विधा हुन् । यद्यपि नयाँ पुस्ता र्यापतर्फ पनि उत्तिकै आकर्षित छन् । पप विधाअन्तर्गत रहेको र्यापलाई ‘एक्प्रेस योर सेल्फ’ भन्ने गरिन्छ । र्यापले आफ्नो भोगाई र समाजको देखाइलाई व्यक्त गर्ने गरेको छ ।
पछिल्लो समय नेपाली र्याप र र्यापरको चर्चा राष्ट्रिय रूपमा मात्रै होइन अन्तर्राष्ट्रियस्तरमा पनि हुने गरेको छ । विदेशी र्यापरले नेपाली र्यापरको चर्चा गरेपछि यसप्रतिको आकर्षण र यसको बजार पनि बढ्दै गएको बताइन्छ ।
र्यापर गिरिस खतिवडा पछिल्लो समय र्यापको सुनौलो समय आएको बताउनुहुन्छ । “हामी कलाकारको लागि र्याप एउटा थेरापी जस्तै हो, मनको कुरा पोख्न पाएका छौँ । र्यापले गाउँको समस्या सहरसम्म र सहरको समस्या गाउँसम्म बुझाएको छ, किनकि म आफैँ सहरमा बस्न थालेपछि गाउँलाई र्यापमार्फत पनि चिन्ने गरेको छु”, उहाँले भन्नुभयो ।
खतिवडाले आफूले र्यापलाई मनको कुरा व्यक्त गर्ने माध्यमको रूपमा लिएको बताउनुहुन्छ । अन्य माध्यमको तुलनामा सजिलै भावना व्यक्त गर्न सकिने माध्यम र्याप रहेको उहाँको बुझाइ छ ।
अर्का र्यापर मानस घलेले नयाँ पुस्तामा र्यापप्रति बढेको आकर्षणले सङ्गीतमा छुटै स्थान बनाउन सफल भएको बताउनुभयो । “हामीले र्यापलाई नेपालभर प्रचार गर्ने प्रयास गरेका थियौँ तर अहिलेको पुस्ताले यसलाई अन्तर्राष्ट्रियकरण गरेको छ । नेपाली भाषा नबुझ्ने पनि हाम्रो श्रोता बन्नुभएको छ । हामीले रहरमा सुरू गरेको र्याप अहिले पेसा बनिसकेको छ । अहिले र्याप गायनबाटै जीविकोपार्जन गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।
र्यापरप्रति सामाजिक धारणा फेरिएकै कारण काठमाडौँ महानगरपालिकाले र्यापर बालेनलाई प्रमुखको रूपमा पाएको उहाँले बताउनुभयो । पछिल्लो समय नवोदितसँगै पुराना र्यापरको माग स्टेज कार्यक्रममा पनि बढ्दै गएको छ । नेपाल मात्र नभई विदेशमा पनि उत्तिकै लोकप्रिय छन्, र्यापर ।
यद्यपि र्यापलाई चाहिनेभन्दा बढी बद्नाम गर्नेको पनि कमि नरहेको र्यापर हाकिमले बताउनुभयो । “र्याप भनेको भावना व्यक्त गर्ने भएकाले यसमा बन्देज हुदैन, यसकारण पनि हामीले मनमा लागेको शब्दलाई कुनै फिल्टर नगरी बाहिर ल्याउछौँ तर यो भन्दैमा अश्लीलतालाई प्रवर्द्धन गर्नुहुँदैन । र, जसले अश्लील, अपाच्य शब्दकै सहारामा मात्र र्याप बनाउने गरेका छन्, ती चर्चाको लागि आएका र्यापर हुन् । किनकि र्यापमा बेदना, भोगाई र बुझाइ हुन्छ”, उहाँ भन्नुहुन्छ ।
र्यापरलाई सुरुआती समयमा आर्थिक कठिनाई र सामाजिक सद्भाव नभएका कारण ती पीडा र्यापमार्फत बाहिर आउने गरेको गयाक ब्रिजेश श्रेष्ठको बुझाइ छ । गीत रेकर्डिङ स्टुडियोसमेत सञ्चालन गरिरहनुभएका उहाँले नवोदितको पीडा राम्रोसँग बुझेको बताउनुभयो । “मसँग स्टुडियो भएकाले नयाँको पीडालाई नजिकबाट अनुभव गरेको छु । उनीहरूको रहरमा समाज र परिवार बाधक बन्ने गरेको सुनेको छु, किनकि ¥यापलाई अहिले पनि रहरिया भन्ने गरिन्छ । त्यहीकारण मैले प्रतिभावान केहीलाई निःशुल्क रेकर्डिङ गरिदिने गरेको छु । यो पेसालाई सहजै स्वीकार नगरिएकै प्रभाव र्यापमा देखिएको पनि हुन् सक्छ”, गायक श्रेष्ठले भन्नुभयो । उहाँ केही समय अगाडि गीतसङ्गीत छाडेर विदेश पनि जानुभएको थियो तर आफ्नो ‘प्यासन’ जीवित रहँदै नेपाल फर्किएर पुनःगीतसङ्गीतमा सक्रिय हुनुभएको छ । श्रेष्ठ गीतसङ्गीतलाई सबैले सुन्ने र हेर्ने बनाउनुपर्ने बताउनुहुन्छ ।
हाल र्यापको अवस्था नेपालमा राम्रो देखिनु खुसीको विषय भए पनि र्यापरले परिवेश र भविष्य हेर्ने भन्दा पनि आफ्नो भावना व्यक्त गर्ने गरेको र्यापर खतिवडाको धारणा छ । “हामीले र्याप हान्ने हो, आफूलाई व्यक्त गर्ने हो । यसको भविष्य के होला वा हाम्रो स्कोप कस्तो छ भनेर सोच्ने नै होइन । र्यापले मलाई खुसी र सन्तुष्टी दिएको छ, त्यहि भएर म अहिलेसम्म सक्रिय छु”, उहाँले भन्नुभयो ।
र्यापर घले हाल विभिन्न रियालिटी ‘सो’ हरू निर्माण भइरहेकाले पनि ¥यापमा भविष्य खोज्नेलाई सहज भएको बताउनुहुन्छ । “हाल आइरहेका विभिन्न कार्यक्रमले एउटा बाटो देखाएको छ तर मेहनतीचाहिँ हुनुपर्छ किनकि मेहनती नहुँदा त्यसको प्रतिफल पाउन सकिँदैन । अहिले सहजता बढेसँगै प्रतिष्पर्धा पनि बढेको छ । त्यसैले यसलाई नै पेसा बनाउन मेहनत आवश्यक छ”, उहाँले भन्नुभयो ।
र्यापर हाकिमले ‘जी–बब’जस्ता र्यापर ‘रियालिटी शो’मार्फत नै आएको बताउनुभयो । उहाँसहितको टिमले विभिन्न ‘सो’समेत गर्ने गरेको छ । र्यापलाई पेसा बनाउन सके यसमा राम्रो भविष्य उहाँले देख्नुभएको छ ।
“अहिले नेपाल मात्र नभई विदेशमा समेत कार्यक्रममा सहभागिता जनाउन सके र्यापरका लागि उत्तम समय छ । आउँदो दिन झनै राम्रो देखिएको छ । अहिले र्यापलाई लिएर सामाजिक धारणासमेत फेरिएको छ । म निकै खुसी छु”, र्यापर हाकिमले भन्नुभयो ।
उहाँको ‘राक्षस’, ‘चोरीदेउ लौन मलाई’ लगायतका गीत लोकप्रिय छ । ती गीतको समयमा यसलाई ‘प्यासन’को रूपमा हेरिएको उहाँले स्मरण गर्नुभयो । नयाँ पुस्ताको आगमन बढेसँगै केही अश्लीलता बढेकामा भने धेरैजसोको चिन्ता छ । “अहिले बढिरहेको लोकप्रियताले र्याप नबुझी आउनेलाई यहाँ टिक्न दिँदैन । यहाँ टिक्न र र्याप गाउन त लगाव चाहिन्छ, नत्र एउटा र्याप बनाउने र हराउने हुन्छ । यद्यपि आउँदो समय नेपाली र्यापका लागि राम्रो देखिएको छ”, र्यापर हाकिमले भन्नुभयो ।
र्यापरद्वय खतिवडा र घलेको पनि यस्तै सल्लाह छ । उहाँहरू नवोदितका लागि यसै क्षेत्रमा राम्रो भविष्य देख्नुहुन्छ । रासस
फोटो:फाइल